बेलायतमा सिरुपाते खुकुरीले केक काट्दा…

रोशन मेवाहाङ्ग/एचके नेपाल डट कम –
लण्डन, माघ १० । व्रिगेड अफ गोर्खाज अन्तर्गत ईन्टेक ९९ले फोक्सट्नस्थित नेपाली रेष्टुरेन्ट लेमन लिफमा १८ औ बसन्त पार भएको अवसरमा उल्लासमय साँझ सम्पन्न गरेको छ।

कार्यक्रमको पहिलो चरणमा ईन्टेकका सिनियर वारेन्ट अफिसर लाखबहादुर गुरुङले उपस्थित ईन्टेक परिवारलाई शुभकामना मन्तव्य व्यक्त गदै उनले भने–‘यस्तो ईन्टेकमा रहन पाउनु आफनो जीवनको ठूलो खुशी पाउनु जस्तै लाग्छ।’

व्रिगेड अफ गोर्खाजबाट टाढाको रेजिमेन्टमा रहेपनि लामो नोकरी गरिरहेकोमा वारेन्ट अफिसर थमेश राई र कर्पोरल आङ्गखुवुलाई शुभकामना दिदै आ-आफनो क्षेत्रबाट पदोन्नती भएका वारेन्ट अफिसर शिवकुमार राई, बसन्त राई,सार्जन्ट रिचर्ड गुरुङ्ग र कर्पोरल कुमार थापालाई अफिसर गुरुङ्गले बधाई दिएका थिए।

उनले भने सहसेनानी(क्याप्टेन) जस्तो गरिमामय पदमा पदनोन्ती भएका व्रिगेड अफ गोर्खाज अन्तर्गत गोर्खा स्टाफ एण्ड पर्सनल सर्पोट रेजिमेन्टमा कार्यरत वारेन्ट अफिसर सुरेन्द्र लिङ्गदेनको क्याप्टेन पदमा पदोन्नती भएको व्रिगेड अफ गोर्खाजको मुख्य कार्यलय बेलायतले घोषणा गरिसकेको सार्वजनिक गरे।

उक्त कार्यक्रमको मुख्य निर्देशन ईन्टेकका चर्चित संखुवासभा निवासी साहित्यकार सचिन थापा मगर र समाजसेवी योगराज लिम्वुले सयुक्त रुपमा संयोजन गरेका थिए।

अफिसर लिङ्गदेन पछिल्लो समय सेकेन्ड बटालियन द रोयल गोर्खा राइफल्सको रेजिमेन्ट एडमिनिस्टे«टर अफिसरको पदमा रहि नेटो सुरक्षाका लागि काबुलमा ४ महिना् खटिएका थिए । मादेबुङ्ग १ ताप्लेजुङ्गमा जन्मिएका सुरेन्द्रले फिदिम नमुना माध्यमिक विद्यालयबाट निम्न माध्यमिक तहको शिक्षा हासिल गरी सुनसरी धरानस्थित श्री शिक्षा सदन मा. वि. बाट प्रवेशीकाको अध्ययन सकेका थिए । त्यस पश्चात आफनो डक्टर बन्ने सपना लिएर उच्च शिक्षा अध्ययनकालागि काठमाण्डौं लागेका थिए । त्रिभुवन विश्वविद्यालय अन्तर्गत अमृत साइन्स कलेजमा स्नातक तहको अध्ययन गर्दा गर्दै वि.स. २०५५ सालमा व्रिगेड अफ गोर्खाजमा भर्ति भएका हुन्।

आफुलाई बाल्यकाल देखि नै फुटवलप्रतिको अत्यन्तै रुचि भएपनि भर्ति पश्चात निरन्तरता दिन नसकेकोमा दुःख लागेको बताए । तर अध्ययनलाई भने उनले छाडेनन् । हाल उनि सैनिक पेशासंगै मिल्टन क्येन विश्वविद्यालय लण्डनमा अन्तर्राष्ट्रिय समाजशास्त्र विषय अन्तर्गत स्नातक तहमा अध्ययनरत छन्।

सफलता पाउनुको मुख्य आधर केलाई ठान्नु हुन्छ भन्ने प्रश्नमा उनले भने- ‘ एक विश्वास अनि परिवारको सहयोग नै सफलताको मेरुदण्ड हो’।
समाजसेवामा वाल्यकालबाटै चासो राखिरहने हुनाले समाजशास्त्रलाई आधारभूत लिई भविष्यमा यहि मार्ग दर्शनमा लाग्ने उनले बताए। प्रगतिको मार्गलाई मात्र अग्रपंतिमा नराखि आफनो कर्म र जिम्मेवार प्रतिको इमान्दारीता साथै कडा संघर्षका कारण छोटो समयमा नै कदरकासाथ सैनिक प्रमुख कार्यालयले अफिसर लिङ्गदेनलाई सहसेनानी (क्याप्टेन) पदमा बढुवा गरेको हो।

अफिसर लिङ्गदेन र संखुवासभा तामाफु निवासी वारेन्ट अफिसर गोपाल सारु मगर आफनो ईन्टेक व्याजिको दोस्रो चरणमा सहसेनानी पदमा पदोन्नती भएका हुन्। गत साल यसै व्याजका अर्का अफिसर सुनसरी धरान निवासी सुरेन लिम्बु पहिलो चरणमा सहसेनानी पदमा पदोन्नती भएका थिए।

अफिसर लिङ्गदेनका व्याजीहरु वि. स. २०५५ सालमा व्रिगेड अफ गोर्खाज भर्ति भएका हुन्। उनका व्याजीहरु २३० मध्ये उच्च अधिकृत पद हासिल गर्न पाउने ४ प्रतिशत औसत मात्र अवसर रहेको मुख्य कार्यलयले जनाएको छ।

स्मरण रहोस बेलायती गोर्खा सैनिकहरुले अहिलेसम्म पाएका उच्च ओहदाहरुमध्ये सहसेनानी पद भन्दामाथि एक तह मात्र जान सक्ने प्रावधान रहेको छ । तर सन २०१५मा नेपाल र बेलायतको दुई सय बर्ष दौत्य सम्बन्ध पुगेको सुखद अवसरमा मेजर यमबहादुर पुनलाई गोर्खा सैनिक ईतिहासमै प्रथम पटक लेप्टिनेन्ट कर्णेल (लेट इन्ट्री)पदमा पदोन्नती गरेका थिए भने डारेक्ट इन्ट्रीबाट पहिलो लेप्टिनेन्ट कर्णेल पदमा विजय रावत पुगेका थिए।





Comments

comments

Leave a Reply

16010