Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राजमार्ग नै सुनकोसीमा खसेपछि… सवारी आवागमन बन्द, यात्रुहरु अलपत्र…

सिन्धुली – विपी राजमार्ग सडकखण्डअन्तर्गत सिन्धुलीको शीतलपाटीमा पर्ने राजमार्ग सुनकोसी नदीमा खसेको छ । शीतलपाटी–९ वेनीघाट खाल्टेमा पर्ने विपी राजमार्गको झन्डै एक सय मिटर सडक गएराति सुनकोसी नदीमा खसेको हो।

राति ११ बजे सडक सुनकोसीतर्फ खसेको प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले जानकारी दिए । राजमार्ग किन र कसरी भत्कियो भन्ने यसै भन्न नसकिने उनको भनाइ छ । राजमार्गमा मोटरसाइकलसमेत नछिर्ने गरी राजमार्गको भित्तोसहित तल भासिएको प्रजिअ कार्कीले बताए।

गएरातिदेखि राजमार्ग सम्बन्ध विच्छेद भएपछि अहिले सयौँ सवारी गन्तव्यविहीन बनेका छन् । विपी राजमार्ग, मध्यपहाडी लोकमार्ग भएर राजधानी तथा राजधानीबाट बाहिरिएका सवारी गन्तव्यविहीन भएका छन् भने यात्रु बिचल्लीमा परेका छन् । रामेछाप, दोलखा, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गालगायत पूर्वका अन्य जिल्ला तथा तराईका जिल्लाबाट राजधानी हिँडेका सवारीसाधन बीच बाटोमा नै थन्किएर बसेका छन्।

सिन्धुलीबाट राजधानी जाने साना तथा अन्य सवारीसाधन नजान र नलैजान सम्बन्धित व्यवसायीलाई जानकारी गराइएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ।

यस्तै महोत्तरी हुंदै सिन्धुली भएर राजधानी आउने सवारीसाधन नपठाउनसमेत महोत्तरीलाई जानकारी गराइएको बताइएको छ । राति देखिको सवारी आवागमन ठप्प भएको र वैकल्पिक व्यवस्था गर्न सडक विभागसँग आग्रह गरेको प्रजिअ कार्कीले बताए । राजमार्ग भत्किएर तल खसे पनि सवारीसाधनलाई गन्तव्यमा पुर्याउन आफूले पहल थालिरहेको उनको भनाइ छ।

वैकल्पिक सडक कतिबेला निर्माण हुन्छ यसै भन्न नसकिए पनि अलपत्र परेका सवारीसाधन तथा यात्रुलाई चाँडै गन्तव्यमा पुर्याउन लागिपरेको उनले बताए।

सडकको जग बलियोसँग नबनाइनु, भूकम्पका कारण चर्किएको र सुनकोसीले बर्सातको समयमा जग खोलिदिँदा सडक भत्केको हुन सक्ने स्थानीयवासीले आङ्कलन गरेका छन्। रासस





Comments

comments

Leave a Reply

16308