नेदरल्यान्डसका कलाकारले नेपालको नाम उच्च पारे…

द्रोण रिजाल, नेदरल्याण्ड –
नेदरल्याण्डका नेपालीले अन्तर्राष्ट्रिय कार्यक्रममा उत्कृष्ट रुपमा नेपालको सहभागिता गराएर नेपालको नाम उच्च बनाएका छन्। २५ फेब्रुअरीको दिन बंगलादेश राजदूतावासले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा नेपालको शानदार प्रदर्शन मात्रै गराएनन् उपस्थित सबैबाट वाहवाही पनि बटुले।

नेदरल्याण्डको द हेगमा भएको उक्त कार्यक्रममा नेपालको तर्फबाट इनास नेदरल्याण्डकी कलाकार सरिता हमागाईले प्रदर्शन गरेको झ्याउरे लोक नृत्य कार्यक्रमकै मुख्य आकर्षण बन्यो । इनास नेदरल्याण्डकी उपाध्यक्ष समेत रहेकी कलाकार हुमागाई सन २०१२ की यूरोप महादेशस्तरीय नृत्य प्रतियोगिताकी बिजेता पनि हुन्। गत वर्ष जस्तै यस वर्ष पनि नेपालको प्रतिनिधित्व अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास नेदरल्याण्ड र गैर आवासीय नेपाली संघ अन्तर्गत संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिले गरेको थियो।

नेपालसहित भारत, श्रीलंका, भूटान, बंगलादेश, म्यानमार, थाइल्याण्ड, मलेशिया, नेदरल्यान्ड्स लगायतका दर्जनौं देशहरूको उपस्थितिमा भएको उक्त कार्यक्रममा आफ्नो सहभागिता सबैको आकर्षण बनेपछि नेपाली टोली निकै हर्षित देखिएको थियो।

यसपटक नेपाल सांस्कृतिक माध्यमबाट नेपाली पर्यटन प्रवर्द्धनमा सहयोग भन्ने मूल उद्देश्यको साथ प्रस्तुत भएको थियो। यसको नेतृत्व गैरआवासीय नेपाली संघ सम्पदा प्रवर्द्धन समितिका संयोजक समेत रहेका नेदरल्याण्डका लागि पर्यटन प्रतिनिधि पुष्प बरुवाल र इनास नेदरल्यान्डसका अध्यक्ष अर्पण पोखरेलले गरेका थिए।

नेपाल सरकार पर्यटन बोर्डद्वारा चलाइने पर्यटन प्रवर्द्धन वर्ष २०१७ यूरोप’ को अभियानमा संस्थागत रुपमै सहयोग गर्ने निर्णय भए अनुसार यस सहभागितालाई अलिक फरक किसिमले प्रस्तुत गरिएको सहभागी मध्ये एक इनास नेदरल्याण्डका सदस्य बिबेक गौतमले बताए। यसपटक नेपालका तर्फबाट सहभागी टोलीले सांस्कृतिक प्रदर्शन गर्नुका साथै नेपालको प्राकृतिक र सांस्कृतिक विविधताको समेत चर्चा गर्दै नेपाल भ्रमणका लागि उपस्थित सबैलाई आग्रह समेत गरेका थिए।





Comments

comments

Leave a Reply

16541