सी जिनपिङ बने माओत्से तुङपछिकै सर्वशक्तिमान नेता, अब चीनमा ‘सी जिनपिङवाद’ लागु हुने

चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले राष्ट्रपति सी चिनफिङको नाम र विचारधारालाई आफ्नो विधानमा ‘माओवाद’ सरह स्थान दिएको छ।

बेइजिङमा जारी पार्टी महाधिवेशनको अन्तिम सत्रले उनको ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’लाई ‘सी चिनफिङवाद’का रूपमा विधानमै ग्रहण गर्ने सर्वसम्मत निर्णय गरेको हो।

पार्टी विधानमा सीको नयाँ युगलाई महत्त्वपूर्ण विचारधारा र वैज्ञानिक विकाससम्बन्धी धारणासँगै मिलेर चिनियाँ कम्युनिस्ट पार्टीको निर्देशिका बनाउने कुरा समेटिएको छ।

महाधिवेशनमा सीले प्रस्तुत गरेको प्रतिवेदनलाई ‘चिनियाँ कम्युनिस्ट पार्टी र सम्पूर्ण चिनियाँहरूको नेतृत्व गरी नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादको विकास गर्ने राजनीतिक घोषणापत्र तथा कार्यक्रम निर्देशिका र माक्र्सवाद तथा लेनिनवादको निर्देशिका दस्तावेज भएको’ ठहर गरिएको छ।

गत बुधबार सुरु महाधिवेशन उद्घाटन सत्रमा सीले ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’ आवश्यक भएको व्याख्या गर्दै ३ घण्टा लामो सम्बोधन गरेका थिए । सीको उक्त विचारधारा सम्मेलनमा प्रस्तुत भएपछि पार्टीका शीर्ष अधिकारी र सञ्चारमाध्यमका तर्फबाट लगातार यसको प्रशंसा हुँदै आएको थियो।

यसले चिनियाँ कम्युनिस्ट पार्टीमाथि राष्ट्रपति सीको पकड विधानमै संस्थागत भएको छ । राष्ट्रपति सी माओत्से तुङपछि चीनकै सर्वशक्तिमान नेता बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चिनियाँ सञ्चारमाध्यमले उनलाई पार्टी संस्थापक माओ बराबरको स्थान दिइएको बताएका छन्। पार्टी विधानमै ‘सी चिनफिङवाद’ उल्लेख भएपछि चीनमा कसैले पनि सीको विरोध गर्ने वा चुनौती दिन नसक्ने बीबीसीले जनाएको छ।

पार्टी विधानमा गरिएका संशोधनले सीलाई थप शक्तिशाली बनाएको छ । पछिल्लो संशोधनको अर्थ राष्ट्रपति सीलाई दिइने कुनै पनि चुनौती कम्युनिस्ट पार्टीको शासनका निम्ति खतराका रूपमा लिइनेछ।

सन् २०१२ मा पार्टी महासचिव भएदेखि नै सीलाई निकै शक्तिशाली नेताका रूपमा चित्रित गर्न थालिएको हो। पूर्वज हु चिन थावो र च्याङ च मिनको तुलनामा उनले आर्थिक तथा कूटनीतिक कार्यलाई तीव्र रूपमा बढाएका छन् । सीको चिनियाँ सपनाले सांस्कृतिक, आर्थिक, औद्योगिक, प्राविधिक, सामाजिक, कूटनीतिक सबै क्षेत्रबाट चीनलाई पुनर्जागरण गराउने काम गरेको छ। कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

20276