बामदेव र आईजीपीको सहमतिमा पक्राउ परेका थिए ढुंगेल…

बामदेव र आईजीपीको सहमतिमा पक्राउ परेका थिए ढुंगेल… थप समाचारः

काठमाडौं, सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्दा माओवादी केन्द्र र नेकपा एमालेलाई प्रहरीले अगाडि नै जानकारी दिएको रहस्य खुलेको छ।

२०७३ चैत ३१ मा सर्वोच्चले प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालका नाममा ७ दिनभित्र ढुंगेललाई पक्राउ गरी अदालतमा प्रतिवेदन पेस गर्न आदेश दिएसँगै आईजीपी अर्याल तनावमा परेका थिए।

तर, माओवादी केन्द्र नै सरकारमा रहेको र पक्राउ गर्दा पद गुम्ने डरले आईजीपी अर्याल पछाडि हटेका थिए । अहिले माओवादी केन्द्र सरकारमा भए पनि विना विभागियको हैसियतमा रहेको तर, राजनीतिक तहमा माओवादी र एमालेको बढ्दो प्रभावलाई कमजोर बनाउन कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतमार्फत प्रहरीलाई दबाब दिएपछि ढुंगेल पक्राउ परेका हुन्।

अर्याललाई आईजीपी बनाए लगत्तै तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीले तत्कालिन डिआईजी नबराज सिलवालको योजनामा अर्याललाई असफल बनाउन ‘ढुंगेल अस्त्र’ प्रयोग गरेकी थिइन् । उनले त्यतिखेर सात दिन भित्र ढुंगेललाई पक्राउ गरी अदालतमा पेश गर्न आदेश मात्र जारी गराइनन्, ‘आफू र आफू मातहतको सम्पूर्ण प्रहरी संरचना परिचालन गरी जो जससँग समन्वय गर्नुपर्ने हो, सो त्यहाँबाटै गरी आदेशबमोजिम प्रतिवादी निज बालकृष्ण ढुंगेललाई जहाँ भए पनि खोजतलास गरी ७ दिनभित्र पक्राउ गरी सम्बन्धित कारागारमा जिम्मा लगाई अदालतमा प्रतिवेदन पेस गर्नु’ भनी नेपाल प्रहरीका आईजीपीका नाममा उर्दी जारी गराइन् । प्रधानन्यायाधीश भएलगत्तै कार्कीले ढुंगेललाई प्रहरीले नै पक्रन नमानेको दावी समेत गरेकी थिइन्।

आफ्नो पद गुम्ने डरले सर्वोच्चले दिएको म्याद गुज्रिसक्दा पनि आईजीपी अर्यालले ढुंगेललाई पक्राउ गर्न आनाकानी गर्दै आएका थिए । तर, अहिले भने अर्यालले आफ्नो पद जोगाउनकै लागि ढुंगेललाई सहमतिमै पक्राउ गरेका हुन् । एमाले स्रोतका अनुसार ढुंगेललाई पक्राउ नगरेपछि प्रधानमन्त्री देउवाले अर्याललाई पदबाट हटाउन लागेका थिए । तर, ढुंगेलकै कारण आफूलाई हटाउने जानकारी पाएलगत्तै आईजीपी अर्याल एमाले उपाध्यक्ष बामदेव गौतमको शरणमा पुगेका थिए । विगत केही दिन देखि अर्याल बामदेव निवास भैंसेपाटी धाइरहेका थिए।

त्यसपछि उपाध्यक्ष गौतमले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ढुंगेललाई पक्राउ नगरे अर्यालको पद गुम्ने र देउवाले आफू अनुकुल आईजीपी बनाएर चुनावमा पेल्ने रणनीति बनाएको सुनाएपछि तीनै नेता र आईजीपी बीचको सहमतिमा ढुंगेल पक्राउ परेका हुन्।

स्रोतका अनुसार अर्याल नै आईजीपीमा कायम हुँदा चुनावमा देउवाले सोचेजस्तो नहुने निष्कर्षमा पुगेपछि ढुंगेललाई पक्राउ गर्ने विषयमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहमत भएका हुन् । त्यसैले पनि एमाले र माओवादीले चुनाव भाँड्नलाई देउवाले ढुंगेललाई पक्राउ गर्ने रणनीति बनाएको बताउन थालेका छन्।

तर, ढुंगेल पक्राउ परेपनि आईजीपी अर्यालको पद गुम्ने त्रास भने कायमै छ । किनकी काठमाडौंको मुटु मानिएको बानेश्वर जस्तो स्थानमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको गोली प्रहार गरी हत्या भएको घटनाका दोषीलाई उनले अहिलेसम्म पनि पक्राउ गरी सार्वजनिक गर्न सकेका छैनन्। यूनाइटेड पोष्ट साप्ताहिकमा खबर छ।





Comments

comments

Leave a Reply

20372