देउवाको सम्मानमा लण्डन दूतावासमा दिवाभोज

अच्युत कोइराला / एचकेनेपाल डट कम-
लण्डन, पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र उनकी पत्नी सभासद डा. आरजु देउवाको सम्मानमा लण्डनस्थित नेपाली दूतावासमा एक दिवाभोज आयोजना भएको छ।

शनिवार आयोजित सो कार्यक्रममा बेलायतको नेपाली समुदायका अगुवा दुई दर्जन व्यक्तित्वहरुको सहभागिता रहेको थियो। निर्धारित भन्दा करिब दुई घण्टा ढिलो गरी सुरु भएको कार्यक्रममा दशैंको शुभकामना आदान प्रदान गर्नुका साथै बेलायतको नेपाली समुदायसंग समबन्धित विभिन्न विषयमा छलफल पनि भएको थियो।

त्यसक्रममा एनआरएन युकेका अध्यक्ष महेन्द्र कण्डेलले आजका दिनमा ग्लोबल रुपमा समुन्द्रपारी छरिएर रहेका दश लाख बढी नेपालीहरुबीच आइपर्ने समस्यालाईे सम्बोधन गर्न परराष्ट्र मन्त्रालयको थप प्रभावकारी प्रभावकारी भूमिकाको आवश्यकता दिनप्रतिदिन बढदै गएको बताउनुभयो। त्यसका लागि आवश्यक संयन्त्र र निकायहरुको विकास गरेमात्रै आफना नागरिकहरुप्रति थप संवेदनशिल वातावरणको निर्माण हुन सक्ने अध्यक्ष कण्डेलले सुझाव दिनुभयो।

त्यस्तै एनआरएन युकेका सह अध्यक्ष योगेन क्षेत्रीले आफनो १ सालको कार्यकारी कार्यकाल पुरा भएपनि आफनो इच्छा बिना कण्डेलले जबरजस्ती गरेको आफनै कार्यकारी नेतृत्वको घोषणा विधानविपरित भएको गुनासो गर्नुभएको थियो। जवाफमा देउवाले आफू त्यसबारे अनभिज्ञ रहेको र आफूमा सम्बन्धित विषय पनि नभएको ठोस जवाफबिना नै पन्छिनुभएको थियो।

प्रवासी नेपाली मञ्चका अध्यक्ष रामशरण सिंखडाले देशमा जारी संबिधान निर्माणको प्रक्रिया समयमै टुंगिने सम्भावना, एनआरएनलाई दिने भनिएको दोहोरो नागरिकता र उनीहरुको मतदान गर्न पाउने अधिकार लगायतका विषयमा जिज्ञासा राख्नुभयो।

नेपलीज महिला एशोसिएसन युकेकी अध्यक्ष आरती श्रेष्ठले गलत ठाउंमा गलत विषय उठाउन उचित नहुने र यसले नेपालका राजनीतिक दलका नेताहरुलाई गलत सन्देश जाने विचार व्यक्त गर्नुभयो। एनआरएन सहअध्यक्ष योगेन श्रेत्रीलाई लक्षित गर्दै उहांले त्यस्ता विषय उठाउनका लागि सो कार्यक्रम गलत ठाउं भएको प्रष्ट पार्नुभएको थियो।

सहभागीका जिज्ञासाहरुमा जवाफ दिने क्रममा नेता देउवाले समयमै संबिधान बन्ने विश्वास व्यक्त गर्नुभयो। संघियताबाहेकका सबै विषयमा सहमति भइसकेको भन्दै उहांले संबिधान बन्नेमा दुई मत नै नरहेको बताउनुभयो। एनआरएनलाई विशेष नागरिकता दिने सहमतिमा राजनीतिक अधिकार नरहने देउवाले प्रष्ट पार्नुभयो। बेलायत र नेपाल दुवै देशको नागरिकता लिएको व्यक्तिले कुनै राजनीतिक पद ग्रहण गर्दा उसको लगाव कुन देशप्रति बढी हुने भन्ने प्रश्न गर्दै उहांले राजीतिक अधिकारसहितको दोहोरो नागरिकताको विषय जटिल रहेको बताउनुभयो।

कार्यक्रममा देउवा पत्नी तथा सभासद डा आरजु देउवाले आफू संबिधान मस्यौदा समितिको सदस्य भएको बताउंदै संबिधान समयमै बन्ने दाबी गर्नुभयो। उहांले प्रवासी नेपालीको हदोहोरो नागरिकताको हकमा राष्ट्रपति, प्रधानमन्त्री, सेनाप्रमुख, प्रधानन्याधिस तथा संघीय राज्य प्रमुख जस्ता महत्वपूर्ण राजनीतिक पदबाहेकका अधिकारको प्रत्याभुतिका पक्षमा आफू रहेको बताउनुभयो।

दिवाभोजमा एनआरएन आईसीसीका विश्वआदर्श पण्डित, कुल आचार्य, समाजसेवी डा राघव धिताल लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो । त्यस अवसरमा कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले कार्यक्रममा उपस्थित देउवा दम्पति तथा अतिथीलाई स्वागत गर्नुभएको थियो भने एनआरएन युकेका महासचिव राजकुमार त्रिपाठी, कोषाध्यक्ष ठाकुर शर्मा लगायतले देउवासंग विभिन्न जिज्ञासा राख्नुभएको थियो । कार्यक्रमको अन्त्यमा गायिका सितु खरेलले शुभकामना गीत सुनाएर सबैलाई मन्त्रमुग्ध पार्नुभएको थियो।





Comments

comments

2049