सगरमाथाको उचाइ नाप्न सुरु : १० जना विज्ञको सहयोग

नेपाल सरकारले पहिलोपटक सगरमाथाको उचाइ मापन सुरु गरेको छ।

१० जना अन्तर्राष्ट्रिय विज्ञको समेत सहयोग लिइएको सगरमाथा उचाइ मापनमा आधुनिक प्रविधि प्रयोग गरिने नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले जानकारी दिएका छन्।

भट्टका अनुसार मापनलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न विदेशी विज्ञको सहयोग लिइएको हो ।

विभागले उचाइ मापनलाई प्रभावकारी बनाउन मंसिर २५ र २६ गते अन्तर्राष्ट्रिय कार्यशाला आयोजना गरेको छ । कार्यशालामा अमेरिका, चीन, भारत, जापानलगायत विभिन्न मुलुकका विज्ञ, प्रतिनिधि सहभागी हुनेछन् ।

सगरमाथाको उचाइ मापनमा नेपालले अपनाएको विधि विज्ञहरूमा प्रस्ताव गरी थप सुझाव लिएर काम अघि बढाइनेछ । नेपाल सरकारले पहिलो पटक गरेको सगरमाथाको उचाइ मापनमा विवाद नआओस् र सर्वस्वीकार्य होस् भनेर विश्वकै दक्ष विज्ञहरूलाई सहभागी गराइएको विभागको भनाइ छ ।

विभागले उचाइ मापनका लागि १२ वटा स्थलगत बिन्दुलाई आधार लिनेछ । जसमध्ये ४ वटा बिन्दुमा पुगेर काम सम्पन्न गर्नेछ । तयारी पूरा भएपछि स्थलगत काम सुरु गर्न हिमपातले समस्या बनाएकाले केही महिना ढिलाइ हुने विभागको भनाइ छ ।

नेपालमा नापी विभागसँग ६० वर्षको अनुभव भएकाले नयाँ प्रविधिका विषयमा समेत दक्ष भइसकेकाले उचाइ मापन चार वर्षभित्र पूरा गर्ने जनाएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

20842