पार्टी एकताको हलो कहाँ अड्कियो ?

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता प्रक्रिया लम्बिँदा पार्टी एकताबारे संशय र एकता नचाहने तत्वले खेल्ने अवसर पाएको बुझाइ नेता तथा कार्यकर्ता तहमै देखिएको छ तर एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनुभएपछि उहाँ र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच औपचारिक भेट हुन नसक्दा यस्तो संशय देखापरेको भनाइ नेतृत्व तहबाट आएको छ।

अस्वस्थ भएपछि अध्यक्ष ओली राजनीतिक भेटघाट तथा औपचारिक कार्यक्रममा पनि सहभागी हुनुभएको छैन । चिकित्सकको सल्लाह अनुसार केही दिनको आरामको आवश्यकता देखिएपछि अध्यक्ष ओली चार–पाँच दिनदेखि घरमै आराम गरिरहनुभएको छ।

उहाँहरूबीच औपचारिक भेटघाट हुन नसके पनि टेलिफोनमा निरन्तर संवाद भइरहेको नेताको दाबी छ । शीर्ष तहमा भइरहेका संवादका बारेमा तल्लो तहका नेता तथा कार्यकर्तासम्म जानकारी पुग्न नसक्दा पार्टी एकता प्रक्रिया लम्बिनुका बारेमा शङ्का उत्पन्न भइरहेको भनाइ माथिल्लो तहका नेताको छ। गोरखापत्रमा खबर छ।

भेट हुन नसक्नुको कारणबारे जिज्ञासा राख्दा अध्यक्ष द्वयका सचिवालयबाट अरू कुनै कारण नभएर अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाको कारण देखाइएको छ । प्रधानमन्त्रीले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा पनि अध्यक्ष ओली अस्वस्थताका कारण उपस्थित हुनुभएन।

आइतबारदेखि बुधबारसम्म दुवै अध्यक्षको भेट हुने समाचारले मिडियामा चर्चा पाइरह्यो तर दुवै अध्यक्षबीच भेट हुन सकेन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिहीबार निर्वाचन क्षेत्र चितवनतिर लाग्नुभएको छ । चितवन महानगरपालिकाको परिषद् भेलाको उद्घाटन गर्न प्रचण्ड चितवनतिर लाग्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ । उहाँ शनिबार काठमाडौँ फर्किने कार्यक्रम छ।

उहाँ फर्किए लगत्तै दुवै अध्यक्षबीच भेट हुने जानकारी दुवै पार्टीका सचिवालयले दिएको छ । दुवै अध्यक्षबीच पार्टी एकताबारे सहमति र संवाद हुन नसकेपछि पार्टी एकता संयोजन समितिको बैठक पनि बस्न सकेको छैन तर एकता प्रक्रियाको खाका तयार गर्ने काम भने निरन्तर भइरहेको एमाले र माओवादी नेताको जिकिर रहँदैआएको छ।

पूर्व सभामुख तथा एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङका अनुसार पार्टी एकता प्रक्रियामा कुनै समस्या छैन । उहाँले दुवै नेताबीच दिनको एकपटक टेलिफोन वार्ता भएकै छ । पार्टी एकता र राजनीतिक वस्तुस्थितिबारे अन्तरसंवाद भइरहेकै छ । अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार हुनेबित्तिकै दुवै अध्यक्षबीच भेटवार्ता हुनेछ भन्नुभयो । बिहीबार बिहान पनि दुवै अध्यक्षबीच लामो टेलिफोन संवाद भएको उहाँले जानकारी दिनुभयो।

नेम्वाङले अध्यक्ष प्रचण्डले बिहान प्रधानमन्त्रीले राख्नुभएको सर्वदलीय बैठक बारेको एजेन्डामा केन्द्रित भएर ओलीसँग छलफल गर्नुभयो । पार्टी एकता प्रक्रियाबारे पनि उहाँहरूबीच छलफल भएको हामीले सुन्यौँ । दुई पार्टी एक हुनेमा समस्या फिटिक्कै छैन । एकता हुँदैन कि भन्ने आशङ्का एकता नचाहनेले बाहिर फैलाएको हल्ला मात्र हो भन्नुभयो।

प्रेस सहयोगी मनहरि तिमिल्सिनाका अनुसार अध्यक्ष प्रचण्ड शनिबार दिउँसो काठमाडौँ फर्किने कार्यतालिका रहेको छ । एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार भए दुवै नेताबीच अध्यक्ष प्रचण्ड फर्केलगत्तै भेटवार्ता हुनसक्ने सम्भावना प्रेस सहयोगी तिमिल्सिनाले सुनाउनुभयो।

यता अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार स्वास्थ्य अवस्थामा पूर्णतः सुधार नभए पनि उहाँको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । बिहीबार अध्यक्ष निवास बालकोट पुग्नुभएका एमालेका वरिष्ठ नेता सहितका केही नेता र कार्यकर्तासँग अध्यक्ष ओलीले आन्तरिक छलफल र भेटघाट गर्नुभएको छ।

अध्यक्ष ओलीलाई भेट्न वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेलसहित अन्य नेता तथा कार्यकर्ता ओली निवास बालकोट पुग्नुभएको थियो । दुई अध्यक्षबीच टेलिफोन संवाद नियमित भइरहेको अधिकारीले पनि बताउनुभयो । यद्यपि औपचारिक भेटवार्ताको समय भने अझै तय भइनसकेको उहाँले जानकारी दिनुभयो ।





Comments

comments

Leave a Reply

21440