किताव बेचेर याक गर्लले डोल्पामा यसरी सहयोग गर्दै

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरीका। नेपालको बिकट जिल्ला डोल्पामा जन्मेकी दोर्जे डोल्माले अमेरिकामा आफ्नो जीवन कथा र डोल्पेली बासिन्दाको दिन चर्या समेटिएको याक गर्ल नामक पुस्तक लेखी प्रकाशनमा ल्याएकी छन्।

ढाडमा समस्या भई राम्रोसंग स्वास प्रश्वास लिन तथा हिडडुलसमेत गर्न नसक्ने अवस्थामा आजभन्दा २३ बर्ष अगाडि अमेरिका छिर्दा डोल्माको अवस्था ज्यादै नाजुक अवस्थामा पुगिसकेको थियो। उनी जीवनको अन्तिम घडिमा पुगीसकेकी थिईन् । तिनै डोल्माले १५ बर्ष लगाएर लेखेकी याक गर्ल नामक तीनसय २८ पृष्ट लामो पुस्तक बिक्रीबाट संकलित रकम डेल्पाको स्वास्थ्य र शिक्षाको विकासमा खर्च गर्ने बताएकी छन्।

कोलोराडोको बोल्डर निवासी जेनीफर क्लरीले हेल्थ क्याम्पमा जादा डोल्मालाई भेटेकी थिईन्। उनले डोल्माको स्वास्थ्य जांच गराउदा नेपालमा केहि गर्न नसकिने डाक्टरहरुको सुझाव आएपछि जेनीफर डोल्माको एक्सरे बोकेर अमेरिका छिरिन्। अमेरिका आएपछि उनी डोल्माको अवस्था सम्झेर चुप लागेर बस्न सकिनन् । उनी त्यो एक्सरे बोकेर कोलोराडो स्थित ठूल्ठूला अस्पतालहरु धाउन थालिन्। डाक्टरहरुबाट उपचारको प्रयास गर्ने आश्वासन पाएपछि उनी पुनः नेपाल फर्केर नेपालमा बढो कठिनताका साथ कागजपत्र तयारपारी डोल्मालाई अमेरिका ल्याउदा उनीसंग डोल्मालाई बचाउने निकै कम समयमात्र बांकी थियो।

ढाड कुप्रिएर फोक्सो , कलेजो चेपिई ज्यादै नाजुक अवस्थामा पुगेकी डोल्मा, अहिले उपचार पश्चात पढेर स्थानीय कोलोराडो यूनिभर्सिटीबाट ग्राजुएट भई जागीर खाई आफ्नै खुट्टामा उभिन सक्ने भएकी छन् । अमेरीका छिर्दा अग्रेजी त परै जावस क,ख समेत नचिनेकी तिनै डोल्माको किताब किन्न र उनको जीवन कथा उनकै मुखबाट सुन्न गत बुधबार बोल्डर बुक सेन्टरको हल खचाखच भरिएको थियो । स्थानीयहरुको जमघटले खचाखच भरिएको हलमा डोल्माले आफ्नो बिगत र डोल्पेली जनताको स्थिति बताई रहदा सहभागीहरुलाई धेरै पटक स्तब्ध तुल्याएको थियो।

अहिलेको युगमा पनि कुनै ठाउंमा मानिस यातायतका साधन, संचार, शिक्षा, स्वास्थ्यको सुविधाबाट बन्चित छन् भन्दा अमेरिकी अचम्मित नहुने कुरै भएन । त्यसैले उनीहरुले डोल्मालाई त्यसै सम्बन्धी धेरै प्रश्नहरु गरेका थिए । डोल्माले आफूले लेखेको किताबबाट उठेको पैसाले डोल्पामा सुविधा सम्पन्न अस्पताल र बिद्यालय निर्माणमा खर्चगर्ने बताएपछि हलमा उपस्थित सबै अमेरीकनहरु उठेर जोडदार तालीका साथ उनलाई सम्मान गरेका थिए । उनले कार्यक्रम स्थल बुक्स सेन्टरमा बिक्रीको लागि लगेकी पुस्तक कार्यक्रम सम्पन्न हुनु अगाडि ने सबै बिक्री भईसकेको थियो।

डोल्माको पुस्तक याक गर्ल अहिले अमेरिकामा यति चर्चित भई सकेको छ कि उनलाई प्रवचन दिन जान भ्याई नभ्याई भईरहेको छ । अमेरीकास्थित बिभिन्न यूनिभर्सिटी, ठूल्ठूला लाईब्रेरी, तथा बुक स्टोरहरुले उनीसंग समय मागिरहेको उनले बताइन् । उनी यही पुस्तकको प्रवचनको लागि आगामी फेव्रुवरीमा नेपाल जाने तयारीमा रहेकी छन्।





Comments

comments

Leave a Reply

21698