एमाले संसदीय दलको उपनेता नेम्वाङ र प्रमुख सचेतकमा अधिकारीलाई जिम्मेवारी

एमाले संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ चयन भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले नेम्वाङलाई उपनेता बनाउन राखेको प्रस्ताव सर्वसम्मत पारित भएको हो । नेम्वाङ रूपान्तरिक संसद्मा पनि एमाले उपनेता थिए ।

कास्की–१ बाट निर्वाचित सांसद खगराज अधिकारीलाई प्रमुख सचेतक बनाइएको छ भने सचेतकको जिम्मा समानुपातिक सांसद शान्ता चौधरीलाई दिइएको छ । बैठकमा ओलीले आसन्न भारत भ्रमण र माओवादी केन्द्रसँग हुने पार्टी एकताका बारेमा जानकारी गराएका थिए।

संसदबाट क–कसलाई गाडी सुविधा ?
संघीय संसद्मा पदाधिकारीले गाडीसहितको सेवासुविधा पाउँछन् । सभामुख, अध्यक्ष, उपसभामुख, उपाध्यक्ष, विपक्षी र सत्तापक्षको नेता, प्रमुख सचेतक, सचेतक र संसदीय समितिको सभापतिले गाडीलगायतका सुविधा पाउँछन् ।

हालसम्म सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे, उपाध्यक्ष शशीकला दाहाल, कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाण, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, प्रतिनिधिसभा नियमावली मस्यौदा समिति सभापति कृष्णभक्त पोखरेल र राष्ट्रियसभा नियमावली मस्यौदा समिति सभापति परशुराम मेघी गुरुङले गाडी सुविधा प्रयोग गरिसकेका छन् ।

एमालेले प्रमुख सचेतक र सचेतक बुधबार चयन गरेको छ । एमाले दलको कार्यालयबाट प्रमुख सचेतक र सचेतकमा नियुक्त भएको जानकारी प्राप्त भएपछि मात्रै गाडी सुविधा दिइने संघीय संसद् सचिवालयस्थित सवारी व्यवस्थापन शाखाका प्रमुख एवं उपसचिव नेत्रबहादुर कार्कीले बताए । नयाँपत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

22705