जेपी क्रसलाई नेपाली नागरिकता दिने तयारी

काठमाडौं, २ कात्तिक। ३० वर्षदेखि नेपाल बस्दै आएका जेपी क्रसलाई नेपाली नागरिकता दिने प्रक्रिया अघि बढेको छ। उनी बेलायती सेनाका पूर्वकर्नेल हुन्। पोखराको नयाँबस्तीमा बस्दै आएका ९१ वर्षीय जेपीलाई नागरिकता दिन जिल्ला प्रशासन कार्यालय कास्कीले मुचुल्का तयार गरेर गृह मन्त्रालयमा पठाउने भएको छ।

‘मुचुल्का तयार भएको छ, केही दिनभित्रै फाइल गृह मन्त्रालयमा पुग्छ’, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णनाथ गौतमले भने, ‘प्रमुख जिल्ला अधिकारी बिदामा भएकाले रोकिएको हो।’

नेपाली नागरिकता पाउने जेपीले गरेको संघर्षबारे अन्‍नपूर्णमा समाचार छापिएपछि राष्ट्रपति रामवरण यादवले विशेष चासो राख्दै नागरिकता दिने पहल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। राष्ट्रपतिको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय कास्कीले प्रक्रिया थालेको समाचार अन्‍नपूर्ण पोष्टमा छापिएको छ। प्रधानमन्त्री सुशील कोइरालाले पनि जेपीलाई नेपाली नागरिकता दिनेबारे चासो राखेका थिए।

नागरिकता एेनमा १५ वर्ष नेपालमा बसेका र नेपाली भाषा बोल्न र लेख्‍न जान्‍नेले निवेदन दिए अंगीकृत नागरिकता दिने व्यवस्था छ। जेपीले नेपाली भाषामै स्नातकोत्तर गरेका छन्। विगतमा प्रशासनले अनावश्यक झन्झट उत्पन्न गरी उनले नेपाली नागरिकता पाउन दिएको निवेदन पेन्डिङमा राखेको थियो।

उनले २०४२ सालमा दिएको निवेदन गृह मन्त्रालयबाटै हराएको स्रोतको दाबी छ। निवेदन गृहमा फेला नपरेपछि नयाँ प्रक्रियाबाट नागरिकता दिने तयारी गरिएको हो। उनलाई नागरिकता दिने निर्णय मन्त्रिपरिषद्ले गर्नुपर्छ।

जेपीले लामो समय बेलायती गोर्खासँग काम गरेकाले नेपालमै मर्ने इच्छा राखेर पोखरामा बस्दै आएका छन्। उनी ४० वर्षअघि पोखरास्थित ब्रिटिस क्याम्प प्रमुख थिए। उनको नेतृत्वमा नेपाली गोर्खाले भियतनाम, जापान, मलेसियालगायत मुलुकमा युद्ध लडेका थिए। जेपी लमजुङका बुद्धिमान गुरुङलाई धर्मछोरा बनाएर सँगै बस्दै आएका छन्।





Comments

comments

2320
%d bloggers like this: