तमूहरुको चेलेबेटी खुवाउने प्रचलन कोरियामा पनि मनाइयो

मञ्जु गुरुङ / एचकेनेपाल डट कम –
सोल। तमू समुदायमा चेली र माइतीवीचको सुमधुर सम्बन्धलाई कायम राख्ने रिँ च्हमीँ कैँ आर्थत चेलीबेटी खुवाउने चलनलाई कोरियामा पनि मनाइएको छ।

तमू धिँ कोरियाले अक्टोबर १९ तारिख आइतबार सउलमा एक कार्यक्रम गरी सार्वजनिकरुपमा पहिलोपटक रिँ च्हमीँ कैँ चलनको शुरुवात गरेको हो।
तमू समुदायमा विशेष गरी विवाह गरेर गएकी चेलीहरुलाई कपडा र खसिको फिला सहितको कोसेली माइतीबाट उनीहरुको घरमा पुराइदिने चलन रहेको छ।

त्यस्तै विवाह नगरेका चेलीवेटीहरुलाई भने सामूहिक रुपमा गाउँमा भएका सबैलाई भेला पारेर भात खुवाउने भन्दै मिष्ठान्न भोजन बनाएर खुवाउने चलन रहेको छ। यसैलाई रिँ च्हमैँ कैँ भन्ने गरिन्छ। यो प्रायः हिन्दू धर्मवालम्बीहरुले दशै मनाइरहेको बेला असोज कार्तिक महिनामा तमू समुदायले पनि यसरी आफ्नो रिँ च्हमैँलाई बोलाएर खुवाउने प्रचलन रहेको लम्जुङ परिवारका पूर्वअध्यक्ष जेवी गुरुङले जनाकारी गराए।

तमू समुदायको मर्दा पर्दा हरेक चलनमा चेलीको अत्यन्तै महत्वपूर्ण भूमिका हुने भएकाले रिँ च्हमीँ कै जस्ता कार्यक्रमले पनि चेली माइतीवीचको प्रगाढ सम्बन्धको उजागर गरेको छ। विदेशमा रहेका तमू बन्धुहरु वीचको एकतामूलक सन्देश छर्दै आफ्नो रिती रिवाजलाई कायम नै राख्न तमू धिँ कोरियाको यो प्रयास सराहनीय भएको भन्दै सबैबाट प्रशंसा पाएका छन्।

कोरियामा रहेका तमू चेलीहरुलाई यसरी माइतीले सम्झेर गरिएको चेली खुवाउने कार्यक्रमले चेलीहरुमा खुशी छाएको छ। कार्यक्रममा उपस्थित हिमानी गुरुङले विदेशमा पनि यसरी माइतीबाट आत्मिय माया र सम्मान पाएकोमा हर्ष प्रकट गर्दै आफ्नो रिती रिवाजलाई कायम नै राख्न पाएकोमा धन्यवाद पनि दिएकी छिन्।

नेपालकै तमू समुदायको उत्पति थलो मानिएको गण्डकी अञ्चलका लम्जुङ, स्याङजा, कास्की, गोरखा, पर्वत जस्ता विभिन्न जिल्लामा तमू समुदायको यस्तो पुरानो चलनहरु हराउदै गइरहेको बेला विदेशी भूमि कोरियामा भने यसरी आफ्नो चलानलाई मनाउन पाउदा तमू समुदायहरुले खुशी प्रकट गरेका छन्।

कार्यक्रममा पहिलो चरणमा तमू धिँ कोरियाको संरक्षक भिम गुरुङको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम गरिएको थियो। लम्जुङ परिवारका अध्यक्ष रुप गुरुङ, स्याङजा परिवारका अध्यक्ष धर्म गुरुङ र नेपाल कोरिया परिवारका अध्यक्ष बेल गुरुङ, आदिवासी जनजाति पत्रकार महासंघ कोरियाका अध्यक्ष मञ्जु गुरुङको आतिथ्य रहेको थियो। महासचिव प्रितम गुरुङबाट संचालित कार्यक्रममा अध्यक्ष सुरज गुरुङको सभाअध्यक्ष रहेको थियो भने वरिष्ठ उपाध्यक्ष बुद्धि गुरुङबाट स्वागत गरिएको थियो।





Comments

comments

2336
%d bloggers like this: