विजय थापा –
अमेरिका, नेपालमा टीकाको शुभ साइत ९ बजेर ५१ मिनेट रहेकै समयमा अमेरिकाका नेपालीहरुले पनि दशैँ मनाएका छन्। मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका, जमरा थापी मनाएका छन्।
शुक्रबार कामको दिन परेकोले पोहोर सालको जस्तो चहलपहल भएन । अमेरिकाका केही पण्डितहरुले ९:३० देखि पनि टीकाको साइत भनेका थिए।
विजया दशमीको दिन शुभ रहेकाले जुनसुकै समयमा पनि टीका लगाउन सकिने भएकोले कामबाट फर्केपछिमात्र साँझ चहल पहल भएको थियो।
बर्ष दिनमा एक पटक आउने चाड त्यसमा पनि सबै भन्दा ठूलो चाड दशैँ शुक्रबार परेता पनि अधिकांश नेपालीले बिदा लिएर दशै मनाउन पाउँदा निकै हर्षित देखिन्थे।
नेपाली समुदायको लागि अमेरिकामा स्थापित विभिन्न संघ/संस्था तथा नेपालीद्वारा स्थापित नेपाली मन्दिरहरुले जमराको व्यवस्था गरेको थियो। केहीले आफ्नै घरमा जमरा राखेका थिए।
नेपालमा जस्तै आफ्ना छोराछोरी ,बुवाआमा तथा परिवारका सदस्यलाई नयाँ लुगा समेत किनि दिएका छन् । टिका लगाउन आउने र जानेहरु पुरुषहरु नेपाली पोशाक दौरासुरुवाल र ढाका टोपीमा देखिन्थे । यसै गरी महिलाहरु फरिया र सुनका गरगहनामा सजिएका देखिन्थे।
घटस्थापना देखि नै खसी मासुका विभिन्न परिकार बनाएर नेपाली समुदायले आफ्ना सामाजिक संजालमा पोष्ट गरेका भेटिन्थे।
कवाफ (पक्कु) ,कलेजो ,रक्ती ,भित्र्यास ,काक्राको खल्पी ,भुटेको भुडी ,कालो मासको दाल ,केराको बुङ्गोको अचार ,नेपाली शैलीका अचार तथा चिउरा ,तामाबोडी ,सेलरोटीको परिकार खाएर दशैं मानेका देखिन्थे।
अमेरिकामा जन्मिएका र हुर्किएका दोश्रो पुस्ताका बालबालिकाहरुले आफ्ना हजुरबुवाआमा ,बुवाआमा तथा आफू भन्दा ठूलाहरुबाट टिका जमरा र आशिर्वाद लिदै पैसा पाउंदा निकै खुशी देखिन्थे । कोही घटस्थापनादेखि नै समय मिलाएर तास र कौडासमेत खेलेका थिए।