मकवानपुरमा फेरि अर्को दुर्घटना : ७ जनाको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
मकवानपुर, १८ कार्तिक। मकवानपुरको चुरियामाईमा ट्रक मंगलवार बिहान ५ बजे पल्टिदा ७ जनाको मृत्यु भएको छ। ९ जना घाइते भएका छन्।

इँटा बोकेको ट्रक खस्दा ७ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृत्यु हुनेहरूमा सियाराम महतो, झगु महतो, जित पासवान, रामबली माझी, विशेष यादव, जंगीलाल महतो रहेका छन्। उनीहरु सर्लाही औराही ८ का बासिन्दा हुन्। मृत्यु हुने एकको सनाखत हुन सकेको छैन।

सर्लाहीबाट हेटौंडा आउँदै गरेको ना ४ ख १२८२ नम्बर ट्रक हेटौडा नगरपालिका १७ चुरियामाइ मन्दिरको उकालोमा अनियन्त्रित भई पल्टिएको जनाइएको छ। ट्रकमा धान काट्न हिंडेका मजदुर चढेका थिए। सहचालकले चलाउँदा ट्रक दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

दुर्घटनापछि ट्रक र सहचालक फरार छन्। घाइतेहरुको हेटौडा अस्पतालमा उपचार भइरहेको डीएसपी दीपक थापाले जनाएका छन्।





Comments

comments

2632