वरिष्ठ गायक दीप श्रेष्ठलाई अभिनन्दन

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

वरिष्ठ गायक दीप श्रेष्ठलाई धरानमा अभिनन्दन गरिएको छ । संगीत क्षेत्रमा लागेको ५० औं बार्षिक उत्सवका अवसरमा उनलाई अभिनन्दन गरिएको हो।

शनिबार रातल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित दशहरा हलमा आयोजीत कार्यक्रममा प्रदेश नं.१का मुख्यमन्त्री शेरधन राईले अभिनन्दनपत्र, नेपाली ढाका टोपी र दोसल्ला पहिर्याएर अभिनन्दन गरे।

प्रदेशका सभामुख प्रदीप भण्डारी, धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुवेदी लगायतले पनि गायक श्रेष्ठलाई फूल, माला र खादा लगाएर अभिनन्दन गरे। अभिनन्दनपछि बोल्दै मुख्यमन्त्री राईले अहिलेसम्म राज्यले दीप श्रेष्ठ जस्ता कलाकारको पहिचान र कदर गर्न नसकेको बताउँदै भने, ‘दीप श्रेष्ठले धरान र प्रदेशको मात्र नभई देशकै इज्जत राख्नु भएको छ । बल्ल अब देशले एउटा सकारात्मक बाटो लिएको छ र समृद्धिको बाटोमा बल्ल पुगेको छ र हिमाल ,पहाड र तराइको सहिस्नुता जोड्ने दीप श्रेष्ठ जस्ता व्यक्तित्वहरुको सम्मान आवश्यक छ भन्नुहुदै आगामी फागुन अन्तिममा यो प्रदेश न . १ को धरानमा आयोजना हुने ऐतिहासिक हुने चलचित्र महोत्सवमा प्रदेश सरकारले पनि सम्मान गर्ने छ।’

नेपाल क्लब हङकङको आयोजना, सिल्भर इन्टरटेन्मेन्टको व्यवस्थापन, धरान उपमहानगरपालिकाको विशेष सहयोग र टुवोर्गको प्रायोजनमा भएको अभिनन्दन कार्यक्रममा धरानका संगीत, व्यवसाय, राजनीतिक र सामाजिक क्षेत्रका व्यक्तित्वहरुकामाझ अभिनन्दित गायक श्रेष्ठले ‘म पत्थरको देउता होईन’,‘भन्थिन् मेरी उनी’,‘हुँ यात्री म एउटा’,‘कति कमजोर रहेछ भाग्य’,‘जति हाँसौं भन्छु’,‘मुटुको ढोका’, मेरो आँखामा’, ‘हर रात सपनीमा’, ‘मेरो सपनाको सहारा’, ‘साईली बरी चिया बारीमा’, ‘म त दूरदेखि आएँ’ र ‘वितेका कुराले’ गीत गाए । गायक श्रेष्ठलाई उनकै श्रीमती गायिका सोफिया गुरुङ श्रेष्ठ र गायिका तायाहाङ्मा राईले गायनमा साथ दिए । आफु जन्मे, हुर्केको ठाउँमा अभिनन्दित हुँदा गायक श्रेष्ठले खुसी व्यक्त गर्दै भने,‘आफ्नै घरआँगनमा सम्मानीत हुन पाउँदा सबैभन्दा धेरै खुसी लाग्दो रहेछ।’

२०२५ साल पुस १ गते धरानबाट नाटक लिएर गएको टोलिमा रहेका दीपले तत्कालिन राजा महेन्द्रका अगाडि ‘म पत्थरको देउता होईन’गीत गाएपछि त्यसको भोलिपल्टै रेडियो नेपालमा उनका दुई गीत रेकर्ड भएका थिए । त्यसपछि उनी निरन्तर संगीत क्षेत्रका सक्रिय छन् । संगीतयात्राको ५० वर्ष पुगेको अवसरमा गत महिना उनले हङकङमा प्रस्तुती दिएका थिए।

सोही कार्यक्रममा आयोजकको तर्फबाट कार्यक्रमका सभापति तथा हङकङ नेपाली महासंघका पूर्वअध्यक्ष प्रदीप थापाले धरानमा निर्माण भएको आसरा सुधार केन्द्रका लागि १ लाख रुपैयाँ प्रदान गरेका थिए।

गायक श्रेष्ठको अभिनन्दको अवसरमा शनिबार विहान धरानमा अभिनन्दन पदयात्रा पनि गरिएको थियो । धरान संगीत प्रतिष्ठान र सेवक अभियानले संयोजन गरेको अभिनन्दन पदयात्रामा गायक श्रेष्ठका दम्पत्तीलाई खादा, मालाले सम्मानगरी नगर परिक्रमा गराईएको थियो । प्रदेश सांसद सावित्री श्रेष्ठसहित धरानका संगीतकर्मी, पदयात्रीहरुसहितको टोलिले गायक श्रेष्ठका गीतहरु घन्काउँदै धरानको पुतलीलाईन, भानुचोक, महेन्द्रपथ, छाताचोकहुँदै सिंहदेवीचोकसम्म परिक्रमा गराइएको थियो ।





Comments

comments

Leave a Reply

26967