पाठकमाथि अख्तियारले नै छानबिन गर्ने, कसुर पुष्टि भए ११ वर्षसम्म कैद

काठमाडौं, घुस प्रकरणपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकमाथि अख्तियारले नै छानबिन गर्ने भएको छ।

महान्यायाधिवक्ता कार्यालयले सोमबार पाठकमाथि छानबिन गर्न सकिने राय दिएपछि अख्तियारलाई सहज भएको हो । यसअघि अख्तियार अलमलमा थियो।

‘छानबिन गर्न मिल्ने राय पाएपछि अब हामी विस्तृत अनुसन्धानमा जान्छौँ,’ अख्तियारका एक अधिकारीले भने । केही दिनभित्रै यससम्बन्धी निर्णय हुने उनले बताए ।

नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताको उजुरीमा छानबिन रोकिदिने भन्दै पाठकले सञ्चालकसँग घुस लिएका थिए । त्यसको भिडियो नै सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए ।

घुसको प्रमाण जुटाउन भने अख्तियारलाई कठिन देखिन्छ । घुस दिने पक्षले उजुरी दिए सहज हुने आयोगका एक अधिकारीले बताए ।

अहिलेसम्म उजुरीकर्ताले अख्तियारलाई जानकारी दिएको छैन । जसकारण घुस दिने पक्ष पनि सजायको भागीदार हुन सक्छ । कसुर ठहर भए पाठकलाई ११ वर्ष कैद र ७८ लाखबराबरको सम्पत्तिसमेत जफत हुन्छ ।

भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ३ मा ५० लाखदेखि एक करोडसम्म घुस लिनेलाई ६ वर्षदेखि आठ वर्षसम्म कैद सजायको प्रावधान छ । संवैधानिक अंगका पदाधिकारीलाई थप तीन वर्ष कैद सजायको व्यवस्था छ । कसुर पुष्टि भए पाठकलाई ११ वर्षसम्म कैद हुन सक्ने खबर नयाँ पत्रिका दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

26981