रोशन मेवाहाङ्ग /एचकेनेपाल डट कम-
लण्डन । लण्डनस्थित नेपाली राजदूतावासमा एक विशेष समारोहको आयोजन गर्दै १०९ औ संस्करण अन्तर्रा्ष्ट्रिय नारी दिवसका अवसरमा संयुक्त अधिराज्यमा विभिन्न पेशा र समुदायमा रहेका नेपाली महिलाहरुको सम्मान गर्दै ‘नारी दिवस’ मनाईएको छ।
नेपाली दूताबास लण्डनको राजदूत डा. दुर्गा बहादुर सुवेदीकी धर्मपत्नी श्रीमती पुनम सुवेदीको सभापतित्वमा आयोजित विशेष समारोहमा वरिष्ठ गायिका तथा संगीतकार मीरा राणा प्रमुख अतिथि तथा सामाजिक अभियन्ता राधा पौडेल एवंम संयुक्त अधिराज्यको जोन मोरिस विश्व विद्यालय, लिभरपुलकी प्राध्यापक डा. सारा पार्कर विशिष्ट अतिथिका रुपमा उपस्थित थिए।
समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै श्रीमती सुवेदीले नेपालको संविधानले नेपाली महिलाहरुलाई समान हक, अधिकार र सुविधा प्रदान गरिरहेको र संविधानले प्रत्याभूत गरेको हक र अधिकारवाट आज हजारौ नेपाली नारीहरु नेपालको सँघ, प्रदेश र स्थानीय तहका राजनैतिक पदहरुमा निर्वाचित हुदै देश र जनताको सेवा गरिरको ज्वलन्त उदाहरण दिर्दै भनिन् ‘नेपालको राष्ट्रपतिको सर्वोच्च पद तथा प्रतिनिधिसभाको उपसभामुख र राष्ट्रियसभाको उपाध्यक्ष पदमा महिला आसिन हुनुहुन्छ, जुन समस्त नारीहरुकालागि गौरवको विषय हो । सम्पूर्ण बेलातयबासी नेपाली दिदीवहिनीहरुलाई एकतावद्ध भएर नेपाली महिलाहरुको चेतना र विकासकालागि योगदान गर्न आह्वान गर्दछु।’
विशेष समारोहलाई सम्बोधन गर्दै बेलायतकालागि नेपाली राजदूत डा. सुवेदीले अन्तर्रा्ष्ट्रिय नारी दिवसका अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी र सम्माननीय प्रधानमन्त्री श्री खड्क प्रसाद शर्मा ओलीको बाहुलीवाट व्यक्त शुभकामना सन्देश पढेर सुनाएका थिए । डा. सुवेदीले भने ‘आमा शिक्षित भए परिवार शिक्षित हुन्छ र परिवार शिक्षित भए समाज शिक्षित हुने छ , राष्ट्रको समग्र विकास र महिला उत्थानमा नारी शिक्षा र सामाजिक चेतना सवैभन्दा महत्वपूर्ण रहने र स्वदेशमा मात्र हैन, विदेशमा पनि नेपाली नारीहरुले आफ्नो देशको धर्म, संस्कृति, पर्व, परम्परा, रीतिरिवाज, भाषा, साहित्य, कला र संगीतलाई सधैं जोगाउँदै सधैं नेपालीमन र नेपालीपन बोकेर नेपाली भएर बाच्नु पर्दछ।’
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायिका मीरा राणाले नारी र पुरुष एक अर्काका अभिन्न अङ्ग हुन् भन्दै समाज र राष्ट्र निर्माणमा महिला र पुरुष सँगसँगै हातेमालो गरेर अघि बढ्नु पर्ने आवश्यकता औंल्याईन्। नेपाली दूतावास लण्डनले ‘नारी दिवस’ का अवसरमा बेलायतका विभिन्न स्थानवाट महिलाहरुलाई आमन्त्रण गरी आयोजना गरिएको सो समारोहले साच्चिकै नेपाली नारीहरुको सम्मान गरिएको बताईन्।
समारोहका विशिष्ट अतिथि राधा पौडेलले नेपालका गरीब र विपन्न वर्गका महिलाहरुमाथि महिनावारीका समयमा हुने सामाजिक दुर्व्यवहार र अन्धविश्वासवाट मुक्त हुन सवैले खुलेर बहस गर्नुपर्ने समय आएको बताउदै महिनावारी समस्या र त्यसको समाधानका सम्बन्धमा आफ्नो कार्यपत्र प्रस्तुत गरेकी थिईन्।
त्यसैगरी विगत तीस वर्षदेखि नेपालको अध्ययन र अनुसन्धान गरिरहेकी प्राध्यापक डा. सारा पार्करले नेपालको सिक्लेसमा आफू र आफ्नो सामाजिक संस्थाद्धारा सामाजिक, शैक्षिक र स्वास्थ्यसम्बन्धी चेतानामूलक कार्यक्रमहरुका माध्यमवाट नेपाली महिला तथा वालवालिकाहरुप्रति पुर्याएको योगदानबारे एक कार्यपत्र प्रस्तुत गरिएको थियो।
बेलायती नेपाली समाजकी एक सशक्त महिला समाजसेवी तथा गैरआवासीय अन्तर्रा्ष्ट्रिय नेपाली सँघकी केन्द्रीय सदस्य शान्ति थापा कुँवरलाई विशेष सम्मान गरिएको थियो । करीब दुईसय महिलाहरुको उपस्थिति रहेको नारी दिवस सम्बन्धी समारोहमा लण्डनलगायत बेलायतका विभिन्न शहरहरुवाट नेपाली महिलाहरुको उल्लेखनीय सहभागिता रहेको थियो। समारोहको अन्तमा बेलायतको सयपत्री नेपाली सांस्कृतिक समूहद्धारा एक मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।