ओलीलाई अमेरिकाको शुभकामना

काठमाडौं: अमेरिकाले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई एक वर्ष पूरा गरेकामा खुसी व्यक्त गर्दैै शुभकामना दिएको छ।

लामो द्वन्द्वपछि शान्तिवार्ता, संविधान निर्माण र निर्वाचनबाट बनेको सरकारले सफलतापूर्वक एक वर्ष पूरा गरेकोमा विदेशमन्त्री माइक पोम्पेओले बधाई र शुभकामना दिएका हुन्। सन्देशमा नेपालको राजनीतिक स्थायित्व र विकासमा अमेरिका साथमा रहने उल्लेख छ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फतको सहयोगलाई अमेरिकाले जोड दिएको छ। विदेशमन्त्रीको शुभकामना सन्देशमा यसलाई दुई देशबीच सहकार्यको एउटा कडीका रूपमा व्याख्या गरिएको छ। अमेरिकाले गत वर्ष नेपाललाई पचास अर्ब सहयोग गर्ने सम्झौता गरेको थियो।

अमेरिकाले तिब्बती शरणार्थीलाई नेपालले देखाएको सदासयताप्रति प्रशंसा गरेको छ। तिब्बती शरणार्थीको अधिकारलाई नेपालले बचाइदिएको धारणा अमेरिकाको छ। सन्देशमा उत्तर कोरियाको परमाणविक कार्यमा नेपालले अमेरिकालाई साथ दिएको विषय पनि उल्लेख छ।

सन्देशमा नेपालले इन्डो प्यासिफिक क्षेत्रको शान्तिमा जोड दिएको विषय उल्लेख गर्दै विदेशमन्त्री पोम्पेओले भनेका छन्, ‘यस क्षेत्रको विकास, सुरक्षा, समृद्धिमा नेपालको साथ र सहकार्य रहने धारणा अमेरिकाको छ।’

पोम्पेओले आफूलाई नेपाली समकक्षी प्रदीप ज्ञवालीले नेपाल भ्रमणको निमन्त्रणा गरेको जानकारी दिँदै त्यसका लागि समय निकाल्ने बताएका छन्। अन्नपूर्णपोस्ट दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

27402