काठमाडौँ, संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण गर्ने सहमति भएको छ। फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति संयोजक बाबुराम भट्टराईले शनिबार पार्टी एकीकरणको सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
एकीकरणको औपचारिक घोषणा भने सोमबार गरिने भएको छ । एकतापछि पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राख्ने सहमति भएको छ । नयाँ शक्ति संयोजक भट्टराईले यादवलाई पार्टीको कार्यकारी अध्यक्ष स्वीकार गर्ने भएका छन्।
पार्टीमा शक्तिशाली संघीय परिषद् बनाउने र त्यसको अध्यक्षमा भट्टराई रहने भएका छन् । यो परिषद्मा एक हजार सदस्य रहनेछन् । स्रोतका अनुसार परिषद्लाई केन्द्रीय कार्यसमितिका निर्णय उल्ट्याउनेअधिकार हुनेछ । केन्द्रीय कार्यसमितिको आकार करिब तीन सय हाराहारी हुनेछ । फोरमका करिब दुई सय सदस्य र नयाँ शक्तिका ९९ सदस्य एकीकृत पार्टीमा पनि सदस्य रहनेछन्।
केन्द्रीय पदाधिकारीको संख्या २५ रहनेछ । फोरमका १६ र नयाँ शक्ति नेपालका ९ पदाधिकारी एकीकृत पार्टीमा पदाधिकारीकै हैसियतमा रहने छन् । २०७२ असोज २ मा संविधान जारी भएलगत्तै तत्कालीन माओवादी केन्द्रबाट अलग्गिएर भट्टराईले नयाँ शक्ति पार्टी स्थापना गरेका थिए। उनी तत्कालीन माओवादी केन्द्रमा पुष्पकमल दाहालपछिको वरीयतामा थिए । फोरमसँग एकीकरणपछि पनि उनी दोस्रो वरीयतामै रहने छन्।
दुई दल एकीकरणपछि प्रतिनिधिसभाको सांसद संख्या १७ पुग्नेछ । जसमा फोरमको मात्रै १६ जना सांसद छन् भने नयाँ शक्तिको एक जना छन्। ठूलो सांसद संख्याको हैसियतले संसदीय दलको नेतामा समेत फोरमका अध्यक्ष यादव रहने सहमति बनेको छ।
नयाँ दलप्रति आमनागरिकको विश्वास नदेखिएकोर निर्वाचनमा ‘थ्रेसहोल्ड’ राखिएपछि भट्टराई दलमर्जर गर्ने बाध्यात्मक परिस्थितिमा पुगेका हुन्। कान्तिपुरमा कुलचन्द्र न्यौपानेले यो समाचार लेखेका हुन्।