पैसाका लागि बाबुले राखे छोरो बन्धकी, प्रहरीद्वारा उद्धार

पैसाका लागि आफ्नै बाबुले छोरालाई बन्धकी राखेका छन् । इँटाभट्टामा बन्धकी राखिएका ११ वर्षीय भारतीय बालकको सोमबार सप्तरी प्रशासनले उद्धार गरेको छ।

आसाम राज्यस्थित धु्रवी जिल्लाका स्माइल एसकेले तीन लाख रुपैयाँका लागि ११ वर्षीय छोरा मोहिबुललाई सप्तरीको विष्णुपुर गाउँपालिका, वरही वीरपुरस्थित रतन इँटा उद्योगमा बन्धकी राखेका थिए।

इँटा उद्योगमा भारतीय श्रमिक उपलब्ध गराउने स्माइलले रतनका लागि पनि श्रमिक ल्याइदिने भन्दै छोरो बन्धकी राखी पैसा लिएका थिए । माघमा छोरो छाडेर गएका स्माइल फर्केर नआएपछि मोहिबुल अलपत्र परेका थिए।

प्रहरीद्वारा उद्धार
मोहिबुललाई इँटाभट्टाबाट निकालेर सुनसरीको इटहरीस्थित बाल हेल्पलाइनको संरक्षणमा पठाइएको सप्तरीका सिडिओ सुरेन्द्र पौडेलले जानकारी दिए । ‘बालक समस्यामा परेको निकै समयपछि हामीले जानकारी पायौँ । तर, अभिभावक लिन नआउने र संरक्षण गर्ने निकायको पनि सहजता नभएकाले उद्धारमा समय लाग्यो,’ पौडेलले भने ‘बाल हेल्पलाइन भन्ने संस्था बालकको संरक्षण गर्न तयार भएपछि त्यहाँ पठाइएको हो।’

यसअघि भारतीय दूतावास र प्रहरीमार्फत बालकलाई अभिभावकको जिम्मा लगाउने प्रयास सफल नभएको उनले जानकारी दिए । ‘आधिकारिक पत्र लिएर आए प्रहरीमार्फत पनि बालकलाई पठाउने कुरा ग¥यौँ,’ पौडेलले थपे, ‘तर, बालक जिम्मा लिन कोही नआएपछि अर्को विकल्प खोज्नुपरेको हो।’ नयाँपत्रिकामा खबर छ।





Comments

comments

28930