नेपालमा बक्सअफिस लागू हुने चर्चा हुन्छ। गत वर्ष चलचित्र विकास बोर्डले बक्सअफिस लागू गरेको घोषणा पनि गर्यो।
तर, घोषणामै सीमित भयो । बक्सअफिस लागू नहुँदा निर्माता मात्र होइन, कलाकार पनि आफू ठगिएको महसुस गरिरहेका छन् । नायिका वर्षा राउत नेपाली फिल्म उद्योग राम्रोसँग चलाउन बक्सअफिस लागू गर्नुपर्ने बताउँछिन्।
बक्सअफिस लागू भए नयाँ निर्मातालाई आफ्नो फिल्मको कमाइबारे थाहा हुने उनी बताउँछिन् । ‘फिल्मको कमाइबारे गलत समाचार सम्प्रेषण भइरहेको हुन्छ, त्यसले एकदम असर गरेको छ । नयाँ निर्माताले वास्तविक परिस्थिति बुझ्छन्,’ उनी भन्छिन् । फिल्मको कमाइ लुकाएर कलाकारलाई पनि ठग्ने गरिएको उनले बताइन्।
हरेक कलाकारलाई आफूले अभिनय गरेको फिल्मको कमाइबारे जानकारी हुनुपर्ने उनको भनाइ छ । ‘फिल्मले व्यापार नै नगरेको भनिन्छ, यसो हुँदा कलाकारको करिअरमा धक्का पुग्छ, राम्रो पारिश्रमिक पाइँदैन,’ वर्षा भन्छिन्, ‘आफूले गरेका फिल्म राम्रो भए त्यहीअनुसार पारिश्रमिक लिन सकिन्छ।’
बक्सअफिस भए फिल्मलाई करको दायरमा ल्याउनसमेत सजिलो हुने उनी बताउँछिन् । ‘सरकारलाई नै फाइदा पुग्ने हो, तर किन लागू भएको छैन, मैले बुझ्न सकेको छैन,’ उनी भन्छिन्, ‘बक्सअफिस लागू हुँदा कलाकारलाई हेर्ने नजर पनि फेरिन्छ । लगानी र आम्दानी पारदर्शी हुन्छ।’ यो खबर नयाँपत्रिकामा छापिएको छ।
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)