१७ वर्षपछि नेपालको प्रधानमन्त्री बेलायतको भ्रमणमा, गोर्खा भर्तीबारे कुरा हुने

लन्डन: पहिलो कूटनीतिक सम्बन्ध भएको मुलुक बेलायतमा १७ वर्षपछि नेपालबाट प्रधानमन्त्रीस्तरको भ्रमण हुँदै छ।

तर, ब्रेक्जिट प्रकरणले यहाँ राजनीतिक अस्थिरता निम्त्याएका बेला प्रधानमन्त्री केपी ओलीको भ्रमण तय भएको हो।

प्रधानमन्त्री ओली शनिबार युरोप भ्रमणमा निस्किँदै छन् । स्विट्जरल्यान्डमा अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यक्रममा सहभागी भई उनी सोमबार लन्डन आइपुग्नेछन् । यहाँ तीन दिन रहेर प्रधानमन्त्री फ्रान्स जाने कार्यक्रम छ । प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो गर्ने बेलायती प्रधानमन्त्री टेरिसा मे सरकारबाट बाहिरिने क्रममा छिन् । उनले प्रधानमन्त्री पदबाट औपचारिक राजीनामा दिइसकेकी छैनन् तर सत्तारुढ पार्टीको नेताबाट हटेकी छन् । नयाँ प्रधानमन्त्रीका लागि नेता चयन गर्न उनले बाटो खोलेकी छन्।

‘नेपालका प्रधानमन्त्रीको बेलायत भ्रमणका लागि यो गलत समय हो । यसबाट खास उपलब्धि अपेक्षा गर्न सकिँदैन’, गत निर्वाचनमा लेबर पार्टीबाट सांसद उम्मेदवार बनेका डा. बच्चुकैलाश कैनी भन्छन्, ‘ब्रेक्जिट प्रक्रिया गतिरोधमा फसेको छ । सत्तारुढ पार्टी र देशको सिंगो राजनीतिमै हलचल आउने गरी ध्रुवीकरण छ । यो अस्थिरताबीच नेपालका प्रधानमन्त्रीको भ्रमण बेलायतको प्राथमिकतामा पर्न सक्दैन।’

प्रधानमन्त्री ओलीले मंगलबार १० डाउनिङ स्ट्रिटमा बेलायती समकक्षी मेसँग भेट्ने कार्यक्रम छ। तर, नेपाल र बेलायतबीच ठूलो ‘डिल’ हुने सम्भावना देखिएको छैन।

अक्सफोर्ड विश्वविद्यालयका रिसर्च फेलो डा. कृष्ण अधिकारी ओलीको भ्रमण सद्भावनामै सीमित रहने बताउँछन्। लामो समयपछि नेपालका प्रधानमन्त्रीबाट बेलायतको भ्रमण हुनु सुखद भए पनि अस्थिर राजनीतिलगायत अवस्थाले खल्लो बनाइदिएको उनको बुझाइ छ। ‘नेपालले यो अवसरलाई सक्दो सदुपयोग गर्ने कोसिस गर्नुपर्छ’, ब्रिटेन–नेपाल एकेडेमिक काउन्सिलका अध्यक्षसमेत रहेका डा. अधिकारी भन्छन्, ‘कुनै ठूलो र नयाँ सम्झौता सम्भव नभए पनि ब्रिटिस गोर्खा सैनिकका समस्या समाधान, दुई देशबीचको व्यापार तथा लगानी सम्बन्ध विस्तार, बेलायती सहयोग वृद्धिलगायत विषयमा नेपालले यो भ्रमणलाई उपलब्धिपूर्ण बनाउन सक्छ।’ यो खबर ध्रुवराज अर्यालले अन्नपूर्णपोष्टमा लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

29791