एकता घोषणा भएको १४ महिनापछि सत्तारुढ दल नेकपाले पार्टी एकताका सम्पूर्ण प्रक्रियामा समझदारी जुटाएको छ।
दुई अध्यक्षबीच आइतबारयता लगातार भएको छलफलले जिल्ला इन्चार्ज र सहइन्चार्ज, केन्द्रीय विभागमा भागबन्डालगायत सबै प्रक्रियामा समझदारी जुटाएको हो।
अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेलको समेत सहभागितामा एकताका बाँकी काममा समझदारी बनाएका हुन्। एकतालाई पूर्णता भने साउन ५ गते बस्ने सचिवालय बैठकले दिनेछ।
अध्यक्षद्वयले यो प्रक्रिया टुंगोमा पु¥याउन वरिष्ठ नेता माधव नेपालसँग पनि छुट्टै परामर्श गरेका थिए। जिल्ला इन्चार्ज र सहइन्चार्ज, केन्द्रीय विभाग गठनलगायत सबै प्रक्रिया टुंगो लागेको महासचिव विष्णु पौडेलले बताए। ‘एकताका सम्पूर्ण प्रक्रिया अब टुंगिएको छ’, महासचिव पौडेलले भने, ‘अब तुरुन्तै पार्टी सचिवालय बैठक बसेर टुंगिएको प्रस्ताव अनुमोदन गरेर सार्वजनिक गर्छाैं। ’
नेकपाका ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्ज, ३२ केन्द्रीय विभाग, ३ केन्द्रीय आयोग, केन्द्र्रीय सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च, राष्ट्रिय परिषद्, प्रदेशस्तरीय विशेष कमिटी गठनका काम बाँकी थियो।
३२ केन्द्रीय विभागमध्ये १८ मा पूर्व एमालेले र १४ मा पूर्व माओवादीले पाउने भएका छन्। यस्तै ३ केन्द्रीय आयोगमा २ पूर्व एमाले र १ पूर्व माओवादीको भागमा परेको छ। ७७ जिल्ला इन्चार्जमा ४४ पूर्व एमाले र ३३ पूर्व माओवादीले पाएका छन्।
जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी दिँदा कुन मापदण्डका आधारमा दिने भन्नेमा नेताहरूबीच लामो रस्साकस्सी भएपछि प्रक्रिया लम्बिएको थियो। वरिष्ठ नेता नेपालले दोहोरो जिम्मेवारीका आाधारमा केन्द्रीय सदस्यको कार्यविभाजन गर्न नहुने अडानमा रहेपछि साबिक दुवै पार्टीका जिल्ला इन्चार्ज र सहइन्चार्ज रहेका नेतालाई नै जिम्मेवारी दिने गरी सहमति भएको थियो। यो खबर अन्नपूर्णपोष्टमा छापिएको छ।