क्यालिफोर्निया सम्वाददाता –
नेपालकी प्रथम टेम्पो चालिका, सफल महिला उद्धमी तथा समाजसेवी लक्ष्मी शर्मा क्यालिफोर्निया अमेरिकाको रिच्मन्ड शहरमा सम्मानित हुनु भएको छ।
अधिकांश सहभागीहरुले शर्मालाई सिएनएन हिरो बनाउनेतर्फ पहल गर्न पर्ने धारणा राखेका छन्। नेपाल विश्व सहयोग संघ तथा पश्चिम अमेरिका नेपाली महासंघले शर्माको उदाहारणीय प्रगति, योगदान तथा सेवाको लागि संयुक्त रुपमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको हो। थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड, पुरस्कार र सम्मान प्राप्त शर्माको यो पहिलो लाइफ्टाइम अचिभमेन्ट अवार्ड भएको बताइन्छ।
करीव ३० हजारको हाराहारीमा नेपाली जनसँख्या भएको अनुमान गरिएको उत्तर क्यालिफोर्नियामा लगभग सम्पूर्णको प्रतिनिधित्व भएको एक स्तरीय तथा सौम्य समारोहबीच सम्मानित शर्माले आफ्नो संघर्षमय जीवनको गाथा सुनाउँदा उपस्थित सबै जना भाव विव्हल भएका थिए।
आयोजक संस्थाहरु नेपाल विश्व सहयोग संघ तथा पश्चिम अमेरिका नेपाली महासंघका अध्यक्ष मणी नेपाली पनेरु तथा उत्तम कुमार कार्कीको संयुक्त सभापतित्वमा सम्पन्न सो समारोहमा आयोजकहरुको तर्फबाट नेपाली असोसियसन अफ नर्दर्न क्यालिफोर्नियाकि निवर्तमान उपाध्यक्ष तथा लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णकी पूर्व अध्यक्ष हेमा पनेरुले स्वागत मन्तव्य दिनु भएको थियो।
आयोजक संस्थाले शर्मालाई सम्मान गर्न पर्ने कारण पुष्टि गर्दै भनेको छ:
“लक्ष्मी शर्मा आज एक दन्त्य कथाकी पात्र झैँ हुनु भएको छ आज हामी सबैका लागि, प्रेरणाकी एक अजश्र श्रोत बन्नु भएको छ। कर्म गर फलको आशा नगर भने झैँ उहाँले जीवनमा धेरै बिघ्न बाधाको बावजूद संघर्ष गरी नै रहनु भयो र आज उहाँ एक नारी सवलीकरणकी प्रतिक बन्नु भएको छ। उहाँ म यो बन्छु भन्ने योजना राख्नु भएन तर आफूले रोपेका कर्मरुपी विरुवाहरुमा मलजल गर्दै रहनु भयो, स्याहार सुसार गर्दै रहनु भयो र आज ती विरुवाहरु बिशाल रुखहरु बनेका छन् जसले हजारौँलाई छहारी दिएको छ बास दिएको छ जीवनको अर्थ दिएको छ। यसरी लक्ष्मी शर्मा एक आफैमा सफलताको कथा मात्र होइन, लाखौं संघर्षशील महिला पुरुषहरुको लागि मार्ग दर्शक र प्रेरणा हुन सफल हुनु भएको छ। विश्वभरका नेपालीहरुलाई बिबिध क्षेत्रमा सक्दो सहयोग पुर्याईरहेको नेपाल विश्व सहयोग संघ (NAGC ) तथा पश्चिम अमेरिकाको १३ राज्यहरुको प्रतिनिधित्व गर्ने पश्चिम अमेरिका नेपाली महासंघ (WANA) ले संयुक्त रुपमा जुलाई १५, २०१९ मा महिला उद्यमी तथा सुप्रसिद्ध समाजसेवी लक्ष्मी शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड सहर्ष तथा सगौरव प्रदान गर्दछ”।
सो अवसरमा आयोजक संस्थाका अध्यक्षद्वय मणी नेपाली पनेरु तथा उत्तम कार्कीले संयुक्त रुपमा लक्ष्मी शर्मालाई दोसल्ला ओडाउँदै लाइफ अचिभमेन्ट अवार्डबाट सम्मानित गर्नु भएको थियो। तत्पश्चात बिभिन्न संघ संस्थाका अध्यक्षहरु तथा प्रतिनिधिहरुले शर्मालाई खाता लगाएर सम्मानित गरेका थिए। अवसरमा नेपाली असोसियसन अफ नर्दर्न क्यालिफोर्नियाका अध्यक्ष इश्वर सिटौला, नेपाली कम्युनिटी सेन्टरका अध्यक्ष यज्ञ लाल श्रेष्ठ, एनआरएन एनसिसि युएसएका उपाध्यक्ष सर्वज्ञ वाग्ले, सोही संस्थाका क्यालिफोर्निया च्याप्टर अध्यक्ष सुरेन्द्र मल्ल, लायन्स इन्ट्रन्यास्नल डिस्ट्रिक 4C3 का पूर्व गभर्नर राजेन थापा, वुद्ध नेपाल पिस फाउन्डेसनका अध्यक्ष चीन काजी श्रेष्ठ, कृयटिभ नेपाल युथ अर्ग नाइजेसनका अध्यक्ष शशि प्रसाई, लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णका अध्यक्ष गोविन्द शाही, लायन्स क्लब अफ बर्क्ली मकालुकी संस्थापक अध्यक्ष मनोहरा थापा बोगटी, लायन्स क्लब अफ शान्ता रोजा काष्ठमन्डपका अध्यक्ष नारायण सोम्नामे, बिकल्प फाउन्डेसन तथा लायन्स क्लब अफ बर्क्ली लाली गुराँसका संस्थापक अध्यक्ष निर्मल फुँयालले सम्मानित व्यक्तित्वलाई खाता लगाएर सम्मान गर्नु भएको थियो।
त्यसै गरी तामाङको अपरेशन सोसाइटीका पूर्व अध्यक्ष कुमार डोङ, जन संपर्क समिति अमेरिका उत्तर क्यालिफोर्निया च्याप्टरकी उपसभापति लक्ष्मी केसी कार्की, नेवा अर्गनाइजेसनका उपाध्यक्ष देवेन्द्र मास्के, एन डब्लु जि एन क्यालिफोर्निया च्याप्टरकी महासचिव लक्ष्मी खरेल, एनएएनसिका पूर्व कोषाध्यक्ष नारायण पोखरेल, समाजसेवी कृष्ण राज गिरी, सफल रियल्टर अनिल अर्याललगायत उल्लेख्य सँख्यामा उपस्थित सामाजिक अगुवाहरुले शर्मालाई खाता लाएर सम्मानित गरेका थिए।
सम्मानित व्यक्तित्व लक्ष्मी शर्माले उल्लेख्य सँख्यामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान, अवार्ड र पुरस्कार जित्नु भएको छ। ती मध्य स्टार ग्रुप अफ यु एस्एबाट लिडिङ वोमेन इन्टरप्रेनर अफ वर्ल्ड २०००, हिलारी रोधाम क्लिन्टनबाट यप्रिसियसन लेटर अप्रिल २५, १९९५, ह्यान्डी क्राफ्ट असोसियसन अफ नेपालबाट वेष्ट एक्स्पोर्टर अफ अन्न प्रडक्ट अवार्ड २००३, क्राफ्ट काउन्सिल अफ नेपाल क्राफ्ट बजारबाट बेस्ट प्रडक्ट अवार्ड, न्यास्नल युथ सर्भिस फन्ड बाट बेस्ट वोमेन इन्टर प्रेनरशिप गोल्ड मेडल १९८७ , नेपाल जर्मन चेम्बर अफ कमर्स यान्ड इन्डस्ट्रिजबाट बेस्ट एक्स्पोर्टर अफ न्यु प्रडक्ट अवार्ड १९९७, ह्यान्डिक्राफ्ट असोसियसनअफ नेपालबाट बेस्ट प्रदक्ट अफ बोन यन्ड हर्न अवार्ड १९९८ जस्ता थुप्रै थुप्रै अवार्ड हरु जित्नु भएको छ।
लक्ष्मी शर्माले आपद बिपदमा परेका, अपाङ्ग तथा पिछिडिएका ४ हजारभन्दा बढी महिला तथापुरुषहरुलाई उनिहरुको शिक्षा दिक्षा पालन पोषण तथा स्वास्थ्यमा प्रत्यक्ष सहयोग पुर्याउनु भएको छ। आज उनीहरु सबैले नयाँ जीवन पाएका छन। शर्मा बहुमुखी प्रतिभाकी धनी हुनुहुन्छ, उहाँ गीतकार, कलाकार, तथा गायिका पनि हुनुहुन्छ। उहाँको भावी योजना मध्य नेपाली उद्यमीहरुको लागि एक श्रोत केन्द्रको रुपमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना गर्न चाहनु हुन्छ, त्यस्तै एक म्युजियम पनि बनाउन चाहनुहुन्छ उहाँ।
सम्मानित शर्मा सत्य न्याय र प्रगतिको जिउँदो जाग्दो प्रतिक हुनुहुन्छ। एक महाकव्य हुनुहुन्छ। कुनै पिएचडी गरेको प्रकाण्ड विदूषीले झै लग्भग सबै क्षेत्रको बारेमा धाराप्रवाह बोल्न सक्ने सत्तरी बर्षीया यि अभूतपूर्व नारीलाई भेट्दा, कुरा गर्दा, उहाँ जीवनमा केवल ३ दिन मात्र स्कूल जानु भएको थियो भन्दा जो कोहीलाई आश्चर्य लाग्छ। यी दन्त्य कथाकी पात्र झैँ लाग्ने यि व्यक्तित्वलाई सिएनएन हिरो घोषणा गरिनु सर्वथा उचित मात्र होइन, सो घोषणाले मानवतालाई सलाम गर्ने छ। सादा जीवन उच्च विचार राख्ने समाजका असल व्यक्तित्वहरुले न्याय पाउने छन्। कार्यक्रमपछि बे एरियाका दाजु भाउजुको रुपमा चिनिने मणी नेपाली पनेरु तथा हेमा पनेरुले रात्रि भोजको आयोजना गर्नु भएको थियो। कार्यक्रम मनोरञ्जक, प्रेरणादायी र सार्थक भएको सहभागीहरुले बताए।