हङकङ आन्दोलनः दोश्रो दिनको अधिकांश हवाई उडान रद्द, पत्रकारसहित दुई चिनीयाँ नागरिकलाई बन्धक बनाएर प्रदर्शनकारीबाट कुटपिट …

डिपार्चरतर्फ जान यात्रुलाई यस्तो सास्ती। फोटो सौजन्यः @MDWLiveFeed

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १३ अगष्ट। प्रदर्शनकारीहरुले विश्वकै सर्वाधिक व्यस्त विमानस्थलमध्ये एक हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा बाधा पुर्याएपछि मंगलवारका अधिकांश उडानहरु रद्द भएका छन्।

हजारौं प्रदर्शनकारीले प्रस्थानकक्षमा यात्रु आवतजवातमा रोक लगाएपछि विमानस्थलले वाध्य भएर उडानहरु रद्द गरेको हो।

विमानस्थलमा अलपत्र पर्यटक

एयरपोर्ट अधिकारीद्वारा एक विज्ञप्ति जारी गर्दै साढे ४ बजेदेखि हवाई उडान रद्द भएको जानकारी दिइएको थियो।

केही यात्रुहरुलाई डिपार्चर (प्रस्थान कक्ष) तर्फ जान वाधा पुराएपछि प्रदर्शनकारीसंग रुष्ट र आक्रोशित भएका टिभि फुटेजहरुमा देखाईएका छन्। उनीहरुको माग सही हुन सक्ला तर अरुलाई सास्ती पुग्ने खालको प्रदर्शनको तरिका ठीक नभएको भन्दै आलोचना गरिरहेका छन्। कति प्रदर्शनकारीले अभद्रता देखाउंदै यात्रुहरुसंग विवाद गरेका पनि देखिएका छन्।

विमानस्थलमा धर्ना

प्रदर्शनकारीले सेन्जेनका सिआईडी पुलिस भन्दै कालो भेषमा रहेका एक युवकलाई बन्धक बनाएर कुटपिट गरेका थिए। उनलाई स्वास्थ्यकर्मीले उद्धारको अथक प्रयाश गर्दा पनि नसकेपछि प्रहरीको ठूलो जत्था विमानस्थलभित्र प्रवेश गरेको थियो। निक्कै तनावपूर्ण अवस्थामा उनको उद्धार गरेपछि केहीबेर प्रहरी र प्रदर्शनकारीबीच विमानस्थलभित्रै झडप भएको थियो। उद्धारका लागि मात्रै आएका प्रहरी छिट्टै विमानस्थलबाट फर्किएका थिए।

पत्रकारको भेषमा आएका एक चिनीयाँ युवकलाई प्रदर्शनकारीले पक्रेर सोधपुछ गरेका थिए। पहिले त पत्रकार हुं भनेपछि छोडिएका उनी दोश्रो पटक पक्राउ पर्दा चुटाई खाएका थिए। उनका साथमा चिनको आईडी कार्ड र पासपोर्ट भेटिएको थियो। त्यतिमात्र होइन,  झोलामा निलो टि-सर्टसमेत भेटिएपछि ति चिनीयाँ युवकमाथि अन्धाधुन्ध कुटपिट भएको थियो।

केही दिनअघि चुन वान आक्रमणमा त्यस्तै निलो टि-सर्ट लगाउने समूहले प्रदर्शनकारीमाथि कुटपिट गरेका थिए। कुटाईबाट गम्भीर घाइते भएका उनलाई स्वास्थ्यकर्मीको अथक प्रयाशपछि उद्धार गरेर अस्पताल लगिएको छ।

पिटिएका युवक ग्लोबल टाइम्सका रिपोर्टर रहेको पुष्टि भएको छ। उनीमाथि भएको कुटपिट र दुर्व्यवहारको ग्लोबल टाइम्सले घोर भत्सर्ना गरेको छ।

हङकङमा गत जुन महिनाको दोस्रो सातादेखि सुपुर्दगी कानुनको पूर्ण खारेजीको माग गर्दै प्रदर्शनहरु भइ रहेका छन्। पछिल्लो पटक उनीहरु विमानस्थल केन्द्रीत प्रदर्शनमा उत्रिदा अन्तर्राष्ट्रिय हवाई उडानहरु प्रभावित भएका हुन्। विमानस्थलमा प्रदर्शन भएको यो पाँचौं दिन हो।

थप न्युज अपडेटमा…





Comments

comments

31360