आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन…

फाइल फोटो

एचकेनेपाल डट कम सम्वाददाता-

कुशे औँसीका दिन आज हिन्दू धर्मावलम्बी वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याउँदैछन्।

शास्त्रोक्त विधिअनुसार ब्राहृमणद्वारा पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ।

हिन्दुहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्छन्।

कुशे औँसी

गोकर्ण औँसीका नामले पनि चिनिने यस पर्वमा छोराछोरी परम्पराअनुसार आ-आफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्छन्।

बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्छन्।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको गोकर्णेश्वर महादेव र रसुवाको बेत्रावतीमा आ-आफ्ना दिवङ्गत बाबुको नाममा तर्पण तथा सिदादान गर्नेको ठूलो घुइँचो लाग्छ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने र बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ।





Comments

comments

31650