१० महिनामा १० लाख पर्यटक भित्रिए, २० लाख भित्र्याउने आधार बन्दै

फाइल फोटो

विगत १० महिनाको अवधिमा करिब १० लाख पर्यटक नेपाल भित्रिएका छन्।

अध्यागमन विभागका अनुसार सन् २०१९ को अक्टोबरसम्म नौ लाख ७५ हजार ५५७ जनाले नेपाल भ्रमण गरेका छन्। यो सङ्ख्या गत वर्षको तुलनामा आठ प्रतिशतले बढी हो।

नेपाल घुमघामका लागि मुख्य सिजन मानिने अक्टोबरमा पर्यटकको सङ्ख्यामा आएको वृद्धिले कुल पर्यटक सङ्ख्या बढाउन सहयोग पुगेको छ।

विभागका अनुसार अक्टोबरमा मात्रै एक लाख ४३ हजार विदेशी नेपाल आएका छन् । अघिल्लो वर्षको अक्टोबरमा यस्तो सङ्ख्या करिब एक लाख ३१ हजार थियो । यस हिसाबले अक्टोबरमा भित्रिने पर्यटकको सङ्ख्यामा अघिल्लो वर्षको तुलनामा १० प्रतिशतको वृद्धि आएको छ।

अक्टोबरमा सबैभन्दा धेरै चिनियाँ पर्यटक नेपाल आएका छन् । विभागका अनुसार १५ हजार चिनियाँ पर्यटक यस अवधिमा नेपाल भित्रिएका छन् । काठमाडौँ, पोखरा र सौराहा घुमघामसहित पछिल्लो समय पदयात्रामा चिनियाँ पर्यटकको रोजाइमा पर्न थालेको छ।

चीनपछि करिब १३ हजार भारतीय पर्यटकले नेपाल घुमघाम गरेका छन् । यो समयमा भारतीय पर्यटकको मुख्य रोजाइ पोखरा र मुस्ताङ हुने गर्छ। भारतसहित सार्क क्षेत्रबाट २१ हजार सात सय पर्यटक यो अवधिमा नेपाल आएका छन् । यो समाचार गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन्।





Comments

comments

32594