द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन सम्भव

फाइल फोटो

निर्माणाधीन काठमाडौँ–निजगढ द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सम्भव देखिएको छ।

द्रुतमार्गमा पाइपलाइन बिछ्याउनका लागि गरिएको सम्भाव्यता अध्ययनले पाइपलाइन बिछ्याउन सम्भव देखिएको हो।

नेपाल आयल निगमका प्रबन्धक भरत रेग्मीले पाइपलाइन बिछ्याउनका लागि गरिएको सम्भाव्यता अध्ययन सम्पन्न भएको जानकारी दिए । उनले अध्ययनले निर्माणाधीन द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सम्भव देखिएको जानकारी दिए । अमलेखगन्जसम्म आइपुगेको पाइपलाइनलाई पथलैयाबाट निजगढ नजिक रहेको दु्रतमार्ग हुँदै काठमाडौँ ल्याउने योजना छ।

उनले भने, “द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउने कार्यलाई अध्ययनले सम्भव देखाएको छ । अबको दुई हप्ताभित्र सो अध्ययनको विस्तृत प्रतिवेदन ‘कन्सलट्यान्सी’ले नेपाल आयल निगमलाई बुझाउने छ ।” अध्ययन प्रतिवेदनले आयोजनाको सम्भाव्यता र चुनौती देखाउनुका साथै आयोजनाको लागत, पेट्रोलियम पदार्थ ढुवानीमा आयोजनाबाट निगमलाई हुनसक्ने बचतलगायतको विषयमा जानकारी प्राप्त हुने प्रबन्धक रेग्मीले बताए । पुल्चोक इन्जिनियरिङ अध्ययन क्याम्पसअन्तर्गतको ‘इन्जिनियरिङ कन्सलट्यान्सी सर्भिस’ले सो सम्भाव्यता अध्ययन गरेको हो।

यसअघि काठमाडौँ–निजगढ द्रुतमार्ग निर्माणका लागि भारतीय कम्पनीद्वारा तयार डीपीआर र एसियाली विकास बैङ्क (एडीबी)द्वारा गरिएको अध्ययनमा समेत दु्रतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सम्भव रहेको उल्लेख गरिएको थियो। गोरखापत्र दैनिकमा समाचार छ।





Comments

comments

32734