नर्सिङमा स्नातक गरेपछि चितवनकी रेस्मा लोहनीले जागिरका लागि थुप्रै अस्पताल धाएर मुस्किलले पाएको स्थानमा पनि मासिक छ हजार मात्र तलब पाएपछि अध्ययन गर्दाको सम्पूर्ण ऊर्जामा पानी खनियो।
आफन्तको सोर्स लगाएर बसुन्धरास्थित एक अस्पतालमा बल्ल बल्ल पाएको जागिरबाट आउने तलबले गाडीभाडा र खाजासमेत नपुगेपछि उनी हाल अस्ट्रेलिया पुगेकी छन्।
लोहनी जस्तै नर्सिङमा स्नातक सकेपछि सत्यम शर्माले पनि निक्कै मिहिनेत गरेपछि काठमाडौँका एक नर्सिङ कलेजमा जागिर पाइन्। पाँच वर्षसम्म काम गर्दा बल्ल १८ हजार रुपियाँ पुगेको तलबले जीविकोपार्जन सम्भव नभएपछि उनी पनि अहिले अमेरिका पुगेकी छिन् । यी दुई उदाहरण मात्र हुन् । समाजमा निक्कै ‘आकर्षक’ देखिने नर्सिङ पेसाबाट उचित सेवा सुविधा नपाएपछि हजारौँ विदेश पलायन भएका छन्।
नेपाली विशेषगरी नर्सहरू अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, थाइल्यान्ड, सिङ्गापुर, कुवेत, साउदी लगायतका देशमा कार्यरत छन्। नेपाल नर्सिङ सङ्घकी कोषाध्यक्ष तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नर्सिङ क्याम्पसकी प्राध्यापक कल्पना श्रेष्ठले नेपालमा नर्सहरूलाई अवसरको खाँचो रहेको बताइन् । ‘‘सुरुमा नर्स भन्ने वित्तिकै सेवा र अवसर पनि होला भनेर अध्ययन गर्ने गर्दछन्’’, प्राध्यापक श्रेष्ठले भनिन्, “तर अध्ययन सकेपछि कुनै अवसर नपाउँदा विदेशिने नर्सहरूको सङ्ख्या अत्यधिक छ।”
कतिपय अस्पतालले सुरुमा स्वयं सेवक भई काम गरेपछि मात्र तलब दिने त्यो पनि आठ, दस हजार रुपियाँमा काम लगाउने गरेका छन् भन्दै श्रेष्ठले भनिन्, “नर्सिङ सङ्घ नेपालमै रोजगार र विभेदकारी व्यवस्थाको अन्त्यका लागि लडिरहेको छ।” गोरखापत्र दैनिकमा समाचार छ।