नेपाली सेनाद्वारा टिङ्कर र लिपुलेक पुग्ने सडक निर्माण सुरु

लिपुलेक

काठमाडौं – दार्चुला जिल्लाको व्यास गाउँपालिकाको घाँटीबगर क्षेत्रमा नेपाली सेनाले सडक निर्माण सुरु गरेको छ । यो सडक निर्माणपछि टिङ्कर र लिपुलेक पुग्न भारतीय भूमिको प्रयोग गर्नुपर्ने अहिलेसम्मको अवस्थाको अन्त्य हुनेछ।

असारसम्ममा उक्त क्षेत्रमा गोरेटो बाटो निर्माण भइसक्ने नेपाली सेनाले जनाएको छ। सेनाको प्राविधिक टोली घाँटीबगर क्षेत्रको थी भन्ने स्थानमा तैनाथ भइसकेको र अब चाँडै नै बाटो निर्माण कार्य सुरु हुने छ।

चीन र भारतको सीमा नाकासमेत पर्ने दार्चुला जिल्लाको व्यास गाउँपालिकास्थित घाँटीबगर इलाकामा दुई मिटर चौडाइको ४५० मिटर गोरेटो र घोडेटो बाटो निर्माण गरिने जानकारी सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले दिए।

व्यास गाउँपालिकामा पर्ने छाङरु र टिङ्करका करिब १८२ घरपरिवारको करिब १२०० जना स्थानीयलाई जिल्ला सदरमुकाम खलङ्गा आवतजावत गर्न ठूलो समस्या छ। व्यास गाउँपालिकामा पर्ने मौरी भीरमा ठूलो चट्टान र घाँटीबगर भन्ने स्थानमा पहिरोसमेत गएकाले आवतजावत गर्न समस्या भएको हो।

घाँटीबगर र मौरी भीर इलाकामा पर्ने ४५० मिटर सडक खण्ड अविलम्ब सुचारु गर्न दार्चुला जिल्ला सुरक्षा समितिबाट निर्णय भएबमोजिम सडक खण्ड निर्माण गर्न सेना खटिएको हो। यो समाचार गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन्।





Comments

comments

36624