नक्कली धनी बनाएर गैरनेपालीलाई जग्गा बिक्री

काठमाडौं – अख्तियारले गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी बनाएर जग्गा बेचबिखन गर्ने सहयोग गरेको अभियोगमा मालपोत कार्यालय नवलपरासीका मालपोत अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

आयोगले तत्कालीन मालपोत प्रमुख टीकाराम ज्ञवाली, तत्कालीन भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवार, तत्कालीन मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, तत्कालीन नायब सुब्बा बुद्धिसागर तिवारी, रमेशमान श्रेष्ठ, तत्कालीन गाविस सचिव नन्दलाल दास, बुद्धिसागर सुवेदी, नन्दलाल कुम्हाल कोहर, तत्कालीन कम्प्युटर अपरेटर सुवास खड्का, तत्कालीन खरिदार नेत्रबहादुर चौधरी, अमृतकुमार काम्मु मगर, खगेन्द्र पराजुली र गेरमी गाउँपालिका–५ बस्ने रविकुमार खत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। उनीहरूविरुद्ध जनही ५ करोड ५ लाख ४२ हजार बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

नवलपरासी साविक सनई गाविस–८ ख कि.नं. १२१, २५१, २९७ समेतका जग्गा हदबन्दी रोक्का रहेकामा नक्कली जग्गाधनी खडा गरी बिक्री गरेको पाइएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।

फाइल फोटो

अनुसन्धान हुँदा भूमिसुधार कार्यालय नवलपरासीका तत्कालीन भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवारले गलत कागजातका आधारमा कानुनविपरीत तीन परिवार संख्या कायम गर्ने गरी गरेको गैरकानुनी निर्णय, सोही निर्णयलाई कार्यान्वयन गराएको भनी मालपोत कार्यालयका तत्कालीन कार्यरत प्रमुख मालपोत अधिकृत र स्थानीय निकायसमेत प्रलोभनमा परी भारतमा बसोवास गर्ने र भारतमै मृत्यु भएका व्यक्तिलाई नेपालमै बसोवास गर्ने गरेको किर्तै कागजपत्र बनाएको अभियोग पत्रमा उल्लेख छ।

नेपालको गेरमी गाविसमै मृत्यु भएको भनी नाता प्रमाणित, मृत्युदर्ता प्रमाणपत्रलगायतका गलत कागजात बनाई सम्बन्धित हकवाला व्यक्ति नै फरक पारी साविक मुलुकी ऐन अपुतालीको महलको १७ नं. तथा मुलुकी देवानी संहिता, २०७४ को दफा २४८ बमोजिम नेपाल सरकारको नाममा आउनुपर्ने क्षेत्रफल ३२.२.१७.२५ बिघा जग्गासमेत भारतीय नागरिक पिएस मेहराको छोरा अनुप मेहराबाट बिक्री वितरण गराउने कार्यमा भूमिसुधार कार्यालय, मालपोत कार्यालय, नवलपरासीका कर्मचारीहरू तथा स्थानीय निकायबाट सिफारिस दिने कर्मचारीहरू भएको प्रमाणित भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

अस्तित्वमै नरहेका प्रेमशरण खत्रीका नाममा कायम रहेका जग्गाहरू सम्बन्धित सरकारी कर्मचारी र गलत प्रवृतिका व्यक्तिसँगको मिलेमतोमा अनुप मेहरा भन्ने भारतीय नागरिकलाई अनुपकुमार खत्री बनाई उनकै नामबाट उल्लिखित जग्गा विभिन्न व्यक्तिविशेषलाई बिक्री वितरण गरी हाल ती जग्गा देवेन्द्रसिंह सैथवार, आशकुमार सैथवार, बृजमनि सैथवार, इन्द्रावती सैथवार, अमनसिंह सैथवार (नाबालक), तेजप्रतापसिंह सैथवार (नावालक), रितुकुमारी सैथवार, शिवलाल चमार, प्रदीप सुनार, तेजश्व सोनकर, पूर्णिमाकुमारी बर्मा सुनार र प्रियंका कुमारी बर्मासमेतको नाममा कायम रहेको पाइएको छ।

अख्तियारले उनीहरूलाई प्रतिवादी कायम गरी उक्त जग्गामा कायम रहेको मोहियानी हक सुरक्षित हुने गरी नेपाल सरकारको नाममा कायम हुन मागदाबी गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

37573