क्याबिनेटमा माया प्रेमका कुरा…

केही महिनायताको शान्त र सौम्य प्रस्तुतिलाई भंग गर्दै गत बिहीबारको क्याबिनेट बैठकमा प्रधानमन्त्री केही आक्रोशित भावमा पेश भए।

‘यो तपाईंको विरोध होइन डाक्टरसा’ब’ भन्दै त्यही बैठकपश्चात् अर्थमन्त्रीबाट राजीनामा दिएका डा.युवराज खतिवडालाई ढाडस दिएर भने, ‘यो आक्रोश मप्रतिको हो।’

राजीनामा त यसअघि प्रधानमन्त्रीका प्रियपात्र मानिने गोकुल बाँस्कोटादेखि शेरबहादुर तामाङहरूले पनि दिएका थिए । उनीहरूको राजीनामाप्रति प्रधानमन्त्रीले त्यस्ता कुनै सहानुभूतिको शब्द खर्चिएका थिएनन् तर युवराजको राजीनामाले उनलाई निकै नै पोलेजस्तो बुझिन्थ्यो, उनकै शब्दबाट।

प्रधानमन्त्रीले युवराजतिर हेरेर भने, ‘देशको आर्थिक उन्नति हुन नदिन, राजनीतिक स्थायित्व कायम रहन नदिन, समृद्ध नेपाल, सुखी नेपाली देख्न नचाहनेहरूको खेल हो यो । तपाईंको केही दोष होइन । अरुतिरबाट नसकेपछि मलाई घेराबन्दी गर्न यस्तो गरियो । चिन्ता नगर्नुस्, तपाईंको आवश्यकता अहिले पनि राष्ट्रलाई छ ।’ त्यसक्रममा प्रधानमन्त्रीले तीनपटक नामै किटेर ‘धन्यवाद’ शब्द दोहो¥याए।

फाइल फोटो

युवराजलाई त्यति भनिसकेपछि बल्ल अरु मन्त्रीहरूतिर हेरे । र, भने, ‘तपाईंहरूले पनि कुनै चिन्ता नलिई काम गर्नुप-यो । मन्त्रिपरिषद् हेरफेर हुन्छ भनेर निक्कै ठूलो हल्ला फिँजाइएको छ । तपाईंहरूलाई पनि आज हो कि भोलि भन्ने परेको होला । तर, त्यस्तो कुनै चिन्ता नलिनुस् । आ–आफ्नो मन्त्रालयमा ध्यान दिएर काम गर्नुस् । हल्ला गरिएजस्तो आजैभोलिमा मन्त्रिपरिषद् हेरफेरको कुरा हुँदैन । खालि भएको मन्त्रालयमा अर्को मन्त्री पठाउने वा के गर्ने भनेर एउटा निर्णय होला । योबाहेक पूरै क्याबिनेट नै फेरिन्छ भन्नेखालका हल्लाहरूमा सत्यता छैनन्।’

यति भनिसकेपछि बल्ल बैठक एजेण्डाहरूमा प्रवेश ग-यो । सोही क्रममा पनि प्रधानमन्त्री प्रतिक्रियात्मक रुपमा पेश भए । जस्तो कि, एजेण्डाभित्र एमसिसीको नियमावली पनि थियो । राजीनामा दिइसकेका अर्थमन्त्रीको तर्फबाट एजेण्डा टेबुल हुनासाथ प्रधानमन्त्रीले ध्यान दिएर प्रस्ताव पढे र भनिहाले, ‘पढ्दै नपढी मान्छेहरू विरोध गर्छन् !’ एकछिन अड्किएर फेरि गुन्गुनाए, ‘के भनौँ र ? यस्तो कुरा नबुझी पनि मान्छेहरू हल्लाको पछि दौडिएका छन् । यसरी हामी कहाँ जाँदैछौँ?’ जनआस्था साप्ताहिकमा समाचार छ।





Comments

comments

38388