१२ वर्षदेखि बन्द रहेको चैनपुर विमानस्थल निर्माण सम्पन्न

बझाङ – करिब १२ वर्षदेखि बन्द रहेको बझाङको जयपृथ्वी नगरपालिका देवलस्थित चैनपुर (देवल) विमानस्थलको निर्माण कार्य पूरा भएको छ।

अर्को साता परीक्षण उडान गरी दशैँमा उडान भर्न मिल्ने गरी हस्तान्तरणको तयारी भइरहेको छ।

विमानस्थलको कालोपत्रे गरेर वरिपरि घेरबार लगाउने काम र नाली निर्माणको काम पूरा भएको हो । विमानस्थल सञ्चालन गर्न पटक–पटक यहाँका बासिन्दाले नागरिक उड्डयन प्राधिकरणमा दबाब दिँदै आएका थिए।

सोही दबाबपछि २०७५ साउनमा विमानस्थल कालोपत्रे गर्न बोलपत्र आह्वान गरेर निर्माण कार्य अगाडि बढाइएको थियो । झण्डै पाँच करोड ५० लाख रुपियाँको लागतमा १८ महिनामा सो विमानस्थलको कालोपत्रे र घेरबार लगायतका काम भएका हुन्।

फाइल फोटो

विमानस्थल निर्माणको काम वैशाखमा सकिनुपर्ने भए पनि कोरोनाका कारण ढिला भएको ठेकेदार कम्पनीका प्रतिनिधि प्रदीप डङ्गोलले बताए।

दशैँसम्म जहाज चलाउन मिल्ने गरेर विमानस्थल हस्तान्तरण गर्ने तयारी रहेको समेत उनले जानकारी दिए। यो समाचार गोरखापत्र दैनिकमा शैलेन्द्र रोकायाले लेखेका छन्।





Comments

comments

38560