सङ्कटमा मिर्गौला रोगी

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) ले मिर्गाैला रोगका बिरामी सबैभन्दा बढी प्रभावित भएका छन्।

कोरोनाका कारण सरकारले लामो समयसम्म गरेको बन्दाबन्दी तथा निषेधाज्ञामा मिर्गाैला रोग लागेका बिरामी र उनीहरूका परिवार प्रभावित बन्न पुगेका छन्। बन्दाबन्दी तथा निषेधाज्ञा खुुले पनि मिर्गौला रोगीलाई अस्पतालसम्म पुुग्न अहिले निकै कठिन भएको छ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. प्रेमराज ज्ञवालीले मिर्गाैला ‘फेल’ भई डाइलासिस गराइरहेका व्यक्ति आर्थिक लगायत अन्य समस्यामा त थिए नै कोरानाका कारण झन् समस्या रहेको जानकारी दिए । उनले धर्मभक्त प्रत्यारोपण केन्द्र देशकै एक मात्र प्रत्यारोपण केन्द्र भएकाले चार सिफ्टमा डाइलासिस गरिरहेको जानकारी दिए । उनले बन्दाबन्दीको बीचमा ९० देखि सय जनाको मिर्गौला डाइलासिस भइरहेको बताए।

श्रीमान् मिर्गाैला रोगी भए श्रीमती र श्रीमती रोगी भए श्रीमान्ले कमाएर उसको उपचार र अन्य खर्च जोहो गर्न नसक्दा धेरै बिरामीलाई समस्या भएको छ।

फाइल फोटो

बन्दाबन्दीले धेरैको रोजगार गुम्दा मिर्गाैला डाइलासिस गराइरहने बिरामी र प्रत्यारोपणको पर्खाइमा रहेका बिरामी तथा प्रत्यारोपण गराइसकेका व्यक्ति त्यसको शिकार बन्न पुगेका छन् । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्रमा मिर्गौला डाइलासिस गर्दै आएका सिन्धुपाल्चोकका मिलन श्रेष्ठको अवस्था अहिले धेरै नाजुक छ । छ वर्षअघि मिर्गौला फेल भएपछि उनको नियमित डाइलासिस गराउन थालिएको थियो । उनकी श्रीमती मुना राईले कनिकुथी गरेर डाइलासिस गर्दा लाग्ने खर्च तथा घरमा खानेकुराको व्यवस्था गर्थिन्।

तर कोरोनाको कारण उनले अहिले रोजगारी गुमाउनुपरेको छ । उनी भक्तपुरको एक कारखानामा गलैँचा बुन्ने काम गर्थिन् । नियमित काम गर्दा १५ हजार रुपियाँ आउने गर्दथ्यो । त्यहीले गुजारा र श्रीमान्को डाइलासिसमा लाग्ने खर्च धान्दै आएकी राईलाई अहिले त्यो खर्च धान्न धेरै मुस्किल परिरहेको छ।

गलैँचा बुन्ने काम पनि छैन, काम पाइहाले पनि श्रीमान्लाई हप्तामा तीन पटकसम्म डाइलासिसको लागि अस्पताल पु¥याउनुपर्ने हुन्छ । राईले श्रीमान्लाई डाइलासिस गराउँदा हप्तामा तीन दिन अस्पतालमै बित्ने गरेको गुनासो गरिन् । महिनाभरी मरीमरी गलैँचा बुने मात्र १५ हजार रुपियाँ हुने भन्दै श्रीमान्लाई अस्पताल ल्याउँदा लैजाँदा गलैँचा बुन्ने काम गर्न नपाएको बताइन् । ‘श्रीमान् काम गर्न सक्नुहुन्न,’ राईले थपिन्, “साथीभाइ र आफन्तसँग सरसापट मागेर खर्च चलाइरहेको छु । काम पनि छैन । अहिले अरूसँग लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ता छ। ”

मिर्गौला रोगी परिवारलाई राज्यले रोजगार दिनसके उपचारमा सहज हुने उनको भनाइ छ। मिर्गौला डाइलासिस निःशुल्क भए पनि उसले नियमित लगाउनुपर्ने सुई, प्रोटिन, क्याल्सियम जस्ता औषधि भने किन्नुपर्ने हुन्छ । शरीरमा आवश्यक मात्रामा खाद्यान्न, रगतको मात्रा पुगेन भने कठिन हुन्छ। यो समाचार गोरखापत्र दैनिकमा सरोज ढुुङ्गेलले लेखेका छन्।





Comments

comments

38719