नेपाल भित्रिएको रेल सञ्चालन अन्योलमा

काठमाडौं – जनकपुर–जयनगर रुटमा भारतबाट केही समयअगाडि ल्याइएको रेल सञ्चालन अन्योलमा परेको छ।

निकै तामझामका साथ रेल भित्र्याइएको भए पनि त्यसको नियमित सञ्चालन हुने बारेमा अन्योल छाएको हो।

रेल सञ्चालनका लागि रेलको इन्जिन र डिब्बा भारतबाट ल्याइएको छ भने लिकलगायत सबै पूर्वाधार तयार भइसकेका छन् । तर, प्राविधिक तथा प्रशासनिक कर्मचारीको अभाव र भौतिक संरचना मर्मत गर्न बाँकी रहेकाले रेल सञ्चालन हुन नसकेको हो।

ब्रोडगेज रेल

३५ किलोमिटर लामो रुटमा रेल सञ्चालनका लागि सात वटा स्टेसन रहेका छन् । त्यसका लागि कम्तीमा २ सय कर्मचारी आवश्यक पर्नेछ । रेल वे कम्पनी लिमिटेडले कर्मचारी भर्नाका लागि १ सय २९ जना कर्मचारी माग गरिसकेको छ । रेल चलाउनका लागि भारतबाट कम्तीमा पनि २६ जना दक्ष जनशक्ति ल्याउनुपर्ने जनाइएको छ । त्यसका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ । रेल वे कम्पनीले उनीहरुलाई ल्याउने प्रक्रिया भने सुरु गरेको छैन।

भारतबाट रेल चलाउने चालक, संकेत देखाउने कर्मचारी तथा अन्य इन्जिनियरसमेत ल्याउनुपर्ने बाध्यता रेल वे कम्पनी लिमिटेडलाई रहेको छ । भारतबाट ती प्राविधिकहरु नल्याएसम्म रेल सञ्चालन असम्भव रहेको जनाइएको छ।

भारतले निर्माण गरेको लिक तथा पूर्वाधार हालसम्म पनि औपचारिक रूपमा हस्तान्तरण नगरेका कारण सञ्चालनमा ढिलाइ हुन गएको सम्बन्धित निकायले बताएको छ । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्।





Comments

comments

38796