आज नवरात्रको आठौँ दिन, देशभरिका शक्तिपीठमा महागौरीको पूजा गरिँदै

नवरात्रको आठौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजाराधना गर्ने वैदिक सनातनी परम्परा छ।

नवरात्रको पहिलो दिन कात्तिक १ गते दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिन्छ। त्यसै दिन घटस्थापना गरिएका स्थानमा नौ दुर्गामध्येकी पहिली शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिन्छ भने दोस्रो दिन पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाराधना गर्ने प्रचलन छ।

तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी तथा सातौँ दिन कालरात्रि देवीको आराधनापछि बडादशैँको आठौँ दिन आज महागौरी देवीको विशेष पूजाराधना गरिँदैछ।

नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । पौराणिक कथा अनुसार, महागौरीको रङ पहिले केही कालो भएकाले भगवान् शिवले देवीलाई ख्यालठट्टामा ‘ए काली’ भन्ने शब्द प्रयोग गरेछन् । त्यो शब्द भगवतीलाई मन परेनछ । तिनले अत्यन्त कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले उनलाई महागौरी भनिएको हो भन्ने विभिन्न पुराणमा वर्णन गरिएको छ। (रासस)

फाइल फोटो

सेतो वृषभमाथि चढ्ने गोरो वर्णकी श्वेतवस्त्र धारण गरेकी स्वरुपमा महागौरी हुन्छिन् भन्ने ती पुराणमा लेखिएको छ । दुर्गाका यिनै नौ रुपलाई नवदुर्गा पनि भनिन्छ।

महाष्टमीका दिन राति हनुमानढोकाको दशैंघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने गरिएकामा यस वर्ष कोरोनाका कारण स्थगन गरिएको छ।





Comments

comments

38977