‘होम आइसोलेशन’ बाटै भौतिकमन्त्रीको निर्देशन

काठमाडौँ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मन्त्रालयअन्तर्गतका सबै आयोजना र डिभिजन सडक कार्यालयले रुग्ण ठेक्का चाँडो टुङ्गाउन निर्देशन दिनुभएको छ।

कोभिड–१९ सङ्क्रमित हुनुभएका मन्त्री नेम्वाङ ‘होम आइसोलेशन’ बाटै मन्त्रालयअन्तर्गतका सबै निकायको पहिलो त्रैमासिकको प्रगति विवरणबारे आयोजित भर्चुअल बैठकमा सहभागी हुँदै उहाँले ती ठेक्कामा भएको ढिलाइबारे बुझेर समाधान निकाल्नुपर्ने बताउनुभयो । मन्त्रालय, विभाग, आयोजनाले पनि निर्माणका काम भइरहेका स्थानमा अनुगमन बढाउनुपर्ने उहाँको जोड छ । उहाँले निर्माण व्यावसायीलाई जिम्मेवार बनाउनुपर्ने जनाउँदैे भन्नुभयो, “८०÷९० प्रतिशत प्रगति भएकालाई काममा लगाउन सकिएला तर प्रगति नभएका र सम्पर्कमा नआएकालाई कालोसूचीमा राखेर कारवाही अघि बढाउनुपर्छ ।”

मन्त्री नेम्वाङले गत वर्षभन्दा चालु आवको अन्त्यसम्ममा भौतिक र वित्तीय गरी दुवै प्रगति बढाउनुपर्नेमा जोड दिनुभयो । पहिलो चौमासिकमा वर्षा, चाडपर्व र कोभिडका कारण काममा बाधा पुगेको उहाँले बताउनुभयो । कुनै पनि आयोजनामा रहेका नीतिगत समस्या हल गर्न आफू तयार रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार सबैले आआफ्नो ठाउँबाट जिम्मेवारपूर्ण रुपले लाग्दा मात्रै प्रगति हासिल हुनसक्छ । उहाँले भन्नुभयो, “हामीले लक्ष्यअनुसार प्रगति हासिल गर्दा हामी सबैको शीर ठाडो हुनेछ ।”

फाइल फोटो

प्रधानमन्त्रीका विकास सल्लाहकार गजेन्द्र थपलियाले कोभिड–१९ को समयमा पनि सडक विभागको प्रगति आशालाग्दो देखिएको बताउनुभयो । यस्तो समयमा पनि पहिलो त्रैमासिकमा झण्डै १० प्रतिशत प्रगति भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ उपत्यकाका सडक, सुरुङमार्ग निर्माण, राष्ट्रिय राजमार्गलगायतका आयोजनाको प्रगतिका बारेमा चासो राख्ने गर्नुभएको उहाँले बताउनुभयो ।

मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले कुनै पनि योजनामा रहेका समस्या अन्तरमन्त्रालय सम्वादमार्फत हल गर्न सकिने भए आफूले तत्काल पहल गर्ने बताउनुभयो । सडक विभागका महानिर्देशक केशवकुमार शर्माले विभिन्न आयोजनामा राम्रो काम भइरहे पनि कतिपयमा अपेक्षा गरेअनुसार हुन नसकेको औँल्याउनुभयो । चालु आवको पहिलो चौमासिकमा मदन भण्डारी राजमार्ग, काठमाडौँ उपत्यका सडक विस्तार आयोजना, नागढुङ्गा सुरुङमार्गमा भौतिक प्रगति रहेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादूर हमालले ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्नका लागि कार्ड खरिद प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

रेल विभागकी महानिर्देशक प्रमिलादेबी बज्राचार्यले पूर्व–पश्चिम विद्युतीय रेलमार्गका विभिन्न खण्डमा रहेका समस्या समाधान स्थानीय तहसँगको समन्वयमा भइरहेको बताउनुभयो ।

रासस





Comments

comments

39133