वासिंटन : कडा प्रतिस्पर्धा र लामो रस्साकस्सीपछि अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भएका छन्।
उनीसँगै उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भइन् । बाइडेनले संसदमा २७० इलेक्टोरल कलेज भोट आवस्यक पर्नेमा २८४ भोट ल्याउँदै विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी डोनल्ड ट्रम्पले भने २१४ भोट मात्रै ल्याए।
निर्णायक राज्य मानिएको पेन्सिल्भेनियामा बाइडेन र ह्यारिसले जितेसँगै सिएनएन, बीबीसी, एपी लगायत अन्तराष्ट्रिय मिडियाले डेमोक्रेट उम्मेदवारहरुले जितेको जनाएका हुन् । यद्यपि आधिकारिक रुपमा घोषणा भएको छैन।
यसबीचमा अमेरिकामा ट्रम्प र बाइडेन दुबैका समर्थकहरु आन्दोलित बनेका छन् । झण्डै एक साता लागेर सम्पन्न भएको यसपटकको अमेरिकी निर्वाचन ऐतिहासिक मानिएको छ । सबैभन्दा धेरै मतदाता यसपटक थिए । साथै हुलाक मार्फत पनि मतदान गरिएको थियो।
यसवाहेक कोरोना महामारीका बीच निर्वाचन सम्पन्न भएको हो । नोभेम्बर ३ मा सुरु निर्वाचनको मतगणना भने नोभेम्बर ७ मा मात्रै सम्पन्न भएको छ । मतगणनाको अन्तिम चरणसम्म आइपुग्दा पनि दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा नै थियो।
यससँगै ट्रम्प दोस्रो कार्यकाल चलाउन नपाउने अमेरिकाका थोरै राष्ट्रपतिमध्ये एक हुन् । सामान्यत: अमेरिकामा दुई कार्यकालसम्म राष्ट्रपति बन्ने चलन छ । यसैबीच उपराष्ट्रपतिको रुपमा विजयी हुँदै कमला ह्यारिसले अर्को एक इतिहास बनाएकी छन्। उनी अमेरिकाको इतिहासमा पहिलो अस्वेत र भारतीय मूलकी महिला उपराष्ट्रपति हुन्। एजेन्सी