धनधान्यकी देवी लक्ष्मीको पूजाआजा गरी लक्ष्मीपूजा मनाइँदै, आजै कुकुर तिहार पनि…

काठमाडौं, २९ कात्तिक। यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ।

आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ।

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दियोका स्थानमा मैनबत्ती बाल्ने प्रचलन बढ्न थालेको छ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाराधना गरिन्छ।

फाइल फोटो

लक्ष्मीपूजापछि कन्या र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ।

लक्ष्मीपूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । आज साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन्।

भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिनुभएको थियो । वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । ‘भलो होस्’ भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि गौतमले बताए।

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मीपूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ।

कुल परम्परानुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीय रुपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी गराए।

यस वर्ष केही समूहले लक्ष्मीपूजा कात्तिक ३० गते मनाउने भनी शास्त्रीय मान्यता विपरीत पर्व मनाउन उत्पे्ररित गरी प्रचारप्रसार गरेको समितिका सदस्य कीर्तिमदन जोशीले जानकारी दिए।

राजनीति गर्नेहरुले चाडपर्वको निर्णय गरेर समाजलाई भ्रमित गर्न खोजेको उनको आरोप छ । धर्मशास्त्र र ज्योतिषशास्त्र विपरीत गरिएको चाडपर्वको निर्णय मान्य नहुने उनको भनाइ छ। त्यसअनुसार चाड पर्व मनाउन आह्वान गर्नेले पात्रो गणना गरेर सार्वजनिक गर्नुपर्ने समिति सदस्य जोशीको सुझाव छ।

कुकुर तिहार पर्व पनि मनाइंदै

यम पञ्चक अन्तर्गत आज कुकुर तिहार पर्व। घर–घरमा कुकुरको पूजा तथा मीठामीठा खानेकुरा दिएर यो पर्व मनाइँदैछ।

कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ।

कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको हो।
कुकुर तिहारलाई नरके चतुर्दशी पनि भनिन्छ। कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने धार्मिक मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ।

यही विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन्।
वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ।

फाइल फोटो

कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ।

कुकुरले घरको रेखदेख तथा चोर–डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ।
त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत कुकुरले दिन्छ। कुकुरलाई भैरवको बाहन पनि भनिन्छ।

आज बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वाससमेत छ।

यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ। यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ। यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मतसमेत रहेको गौतमले बताए।





Comments

comments

39259
%d bloggers like this: