काठमाडौं । योजना अनुसार काम हुन सके अबको करिब साढे चार वर्षपछि पोखराबाट मुस्ताङको मुक्तिनाथसम्म केबलकारमै जान पाइनेछ।
लगानी बोर्डको सहजीकरणमा नेपालको निजी क्षेत्र र विदेशी लगानीकर्ताको पहलमा विश्वकै लामो केबलकारका रूपमा मुक्तिनाथ केबलकार आयोजनाको विस्तृत आयोजना प्रतिवेदन सरकारको हातमा परेको छ।
मुक्तिनाथ दर्शन प्रालिले केबलकार कसरी र कस्तो बनाउने भन्ने पूर्ण विवरण समेटेको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)माथि अहिले लगानी बोर्ड र सरोकारवाला निकायका प्राविधिक तथा पदाधिकारी सम्मिलित टोलीले अध्ययन गर्दैछन्।
डीपीआर अनुसार कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म ८०.१५ किलोमिटर लामो केबलकार बन्नेछ। प्रतिसेकेन्ड सात मिटरको गतिमा हुइँकिने केबलकारका डिब्बा (गोन्डुला)ले मुक्तिनाथसम्म पुग्न केबल तीन घण्टा ३६ मिनेट लगाउने छ । समुद्र सतहदेखि करिब एक हजार मिटरको उचाइबाट सुरु हुने केबलकार तीन हजार सात सय मिटरको उचाइसम्म पुग्नेछ । यसमा १७ वटा खण्ड बनाइने छ भने १९ वटा स्टेसन हुनेछन्।
कम्पनीका प्रबन्ध सञ्चालक श्रीधर सापकोटाका अनुसार यो यात्रालाई खण्डित रूपमा पनि यात्रुले पूरा गर्न पाउनेछन्। यो समाचार आजको गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले लेखेका छन्।