बजेट अभावले चीनमै रोकिए २५ वटा विद्युतीय बस…

चीनमा तयार भएका २५ वटा विद्युतीय बस आर्थिक अभावका कारण नेपाल ल्याउन सकिएको छैन।

सुन्दर यातायातले दुई वर्षअघि निर्माण गर्न लगाएको २५ वटा बसको भुक्तानी गरिसेकेको छ तर भन्सार कर बुुझाउन आवश्यक रकमको जोहो गर्न नसकेपछि बसहरू चीनमै रोकिएका छन्।

करिब ६ महिनाको बन्दाबन्दीले योजनाअनुसार काम गर्न नपाएपछि आर्थिक समस्या हुन पुुगेको सुुन्दर यातायात प्रालिले जनाएको छ । ४० सिट क्षमताका २५ वटा बसहरू तयारी अवस्थामा छन् । कम्पनीले ल्याउन ताकेता गरिरहेको छ तर भन्सार करको जोहो गर्न नसक्दा आफूहरू समस्यामा परेको सुुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए।

फाइल फोटो

उनले भने, “हामीले २५ वटा बसको भुक्तानी दिइसकेका छौँ, अब हामीलाई पाँच करोड रुपियाँ भन्सार बुुझाउन लाग्छ, यतिबेला हामीसँग नगद छैन, जग्गा जमिन धितो राखेर बैङ्कबाट ऋण ल्याउन खोजेको तर बैङ्कले विद्युुतीय बसलाई लोन नदिने दिने व्यवस्था छैन भनेर दिइरहेका छैनन्, धितो राख्दा पनि विद्युतीय बसले लोन पाउनसकेको छैन।

” बैङ्कहरूले विभिन्न बहाना बनाएर पन्छाइरहेको उनले दाबी गरे । एनआईसी एसिया, नेपाल बैङ्क लिमिटेड, एनसीसी बैङ्क, बैङ्क अफ काठमाडौँ, ग्लोबल आईमई, कामना विकास बैङ्क, महालक्ष्मी बैङ्क, एभरेस्ट बैङ्कलगायतमा पटक–पटक आफू धाएको तर ती बैङ्कहरू विभिन्न बहाना देखाएर ऋण दिन नमानेको उनको भनाई छ।

सुन्दर यातायातका अनुसार निजी बैङ्कहरूले विद्युतीय बसका लागि ऋणको व्यवस्था नगरिएको बताएका छन् भने सरकारी बैङ्कले मापदण्डभित्र पर्दैन भनिरहेका छन्। यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन्।





Comments

comments

40847