वार्ता सफल, प्रतिबन्ध फुकुवाः चन्दसहितका नेता आज सार्वजनिक हुँदै

सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसंगको वार्ता सफल भएको छ ।बुधवार र बिहीवार भएको छलफलपछि तीनबुँदे सहमति भएको छ। सहमतिको विस्तृत विवरण आज सार्वजनिक गरिँदै छ।

सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र चन्द समूहका वार्ता टोली प्रमुख खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्ने र झूटा मुद्दा खारेज गर्नेसम्म रहेका छन् ।

सरकारले उक्त समझादारीलाई कार्यान्वयनमा लैजाँदै चन्दमाथिको प्रतिबन्ध बिहीवार साँझ नै हटाएको छ । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवा गर्दै सरकारी र चन्द पक्षबीच भएको सहमतिलाई अनुमोदनसमेत गरेको हो।

३ बुँदे सहमतिपछि

२०७५ फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले चन्द नेतृत्वको नेकपालाई आपराधिक समूहको संज्ञा दिँदै प्रतिबन्ध लगाएको थियो । सरकारले चन्द नेतृत्वको नेकपालाई आपराधिक समूह घोषणा गर्दै चन्द समूहका नेताकार्यकर्ता ‘जहाँ भेटिन्छन्, त्यहीँ पक्राउ गर्न’ निर्देशन दिएको थियो।

फागुन २८ को निर्णयपछि धमाधम नेताकार्यकर्ता हतियारसहित पक्राउ परेपछि चन्द नेकपा कमजोर बन्दै गएको र वार्तामा आउन बाध्य भएको दाबी सुरक्षा निकालिएको थियो । यो २ वर्षको अवधिमा एक शिक्षक र अन्य केही सर्वसाधारणले ज्यानसमेत गुमाएका छन्।

चन्द नेकपाका विदेश विभाग प्रमुख एवं शीर्ष तहका नेता धमेन्द्र बास्तोलासहित हेमन्तप्रकाश वली, चन्द्रबहादुर चन्द, माइला लामालगायत थुनामा रहेका छन् । एनसेलको टावरमा आक्रमण–विस्फोटदेखि विकास निर्माणका आयोजनामा अवरोध गरेको र हातहतियार बोकेर राज्यविरुद्ध कसुर गरेको आरोप उनीहरूमाथि लगाइएको छ। यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ।





Comments

comments

40911