विदेशमा चासो र चिन्ता तर मुलुकमा बेवास्ता

अन्तर्राष्ट्रिय चर्चामा प्रायः प्राथमिकतामा नपर्ने हाम्रो देश नेपाल यसपटक भने दुई–दुईवटा विषयका कारण चर्चित भइरहेको छ। नेपाललाई अन्तर्राष्ट्रिय चर्चामा ल्याएको विषय एउटा कोरोना संक्रमणको उच्च वृद्धिदर हो भने अर्को राजनीतिक अस्थिरताले दलहरूबीच ल्याएको ध्रुवीकरण।

विश्वकै चिन्ताका कारण बनेको कोरोना संक्रमणको दोस्रो लहरले यति बेला नेपालमा भयावह रूप धारण गरेको छ । यस्तो भयावह परिस्थितिबाट हाम्रा नेताहरू कत्ति पनि चिन्तित र बिचलित भएका छैनन् । तर, अमेरिकी सिनेटरहरू भने नेपालको भयावह अवस्था देखेर चिन्तित हुन थालेका छन् ।अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा व्यापक छलफल भएको छ ।

कोभिड–१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्सका बारेमा भएको सुनुवाइ कार्यक्रममा कनेक्टिकट राज्यबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर क्रिस मुर्फेले नेपालका बारेमा जानकारी माग गर्नुभएको थियो ।कोभिड महामारीका लागि यूएसएआईडीका लागि वरिष्ठ सल्लाहकार जेरेमी कोन्ड्याकले नेपालको अवस्था भयावह भएको उल्लेख गर्दै परीक्षण गरिएका अधिकांशमा कोरोनाको संक्रमण पाइएको जानकारी सिनेटमा गराउनुभएको थियो । उहाँले नेपालमा फैलँदो अवस्थामा रहेको कोरोना संक्रमणको दर उच्च भएकाले नेपाललाई अतिरिक्त सहायताका प्रदान गर्ने योजना बनाइरहेको पनि सिनेटलाई जानकारी दिनुभयो ।

फाइल फोटो

अमेरिकी सिनेटमा कोभ्याक्समार्फतको खोप केही साताभित्रै नेपालमा नपठाउने हो भने नेपालमा जे पनि हुन सक्ने आशंका व्यक्त गर्दै उहाँले उक्त खोप केही साताभित्र नेपाल पुग्ने व्यवस्था मिलाउन समेत आग्रह गर्नुभएको थियो ।तर, जुन देशको कुरा विदेशमा भइरहेको छ, त्यही देशका सरकार र नेताहरू सत्ता प्राप्तिको खेलको उत्कर्षमा छन् ।

उनीहरूलाई अझै पनि कोरोना संक्रमणको अप्रत्यासित बढ्दो दरले छुन सकेको देखिँदैन ।कोरोना संक्रमणका कारण विभिन्न अस्पतालमा उपचाररत सर्वसाधारण अक्सिजन ग्यास नपाएर दैनिक दर्जनौंको संख्यामा मृत्युवरण गरिरहँदा समेत दलका नेताहरूले यस्तो भयावह स्थितिबाट बेखबरझै बनी सत्ताकै पछि दौडेर जनताका रोदनलाई पाखा लगाएका छन् ।बिहीबार बिहानदेखि बेलुकासम्मको राजनीतिक परिदृश्यलाई नियाल्ने हो भने नेतामा नैतिकता हराएको प्रस्ट भान हुन्छ । नेता नेताको दौडधुपले देश कोरोना संक्रमणबाट आक्रान्त छ भन्ने समेत बिर्साइदिन्छ ।

यति नै दौडधुप कोरोना संक्रमण नियन्त्रणमा गरिएको भए अकालमा ज्यान गुमाइरहेकाकोे संख्यामा कमी आउनेमा द्विविधा छैन । अहिले पनि सर्वसाधारण एक सिलिन्डर ग्यास र एक मुठ्ठी श्वासका लागि सरकार र नेताहरूको मुख ताकिरहेका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ।





Comments

comments

Leave a Reply

42228