कोलोराडोमा घुम्ती कन्सुलर सेवा सम्पन्न

नातिबाबु भट्ट –

कोलोराडो, अमेरिका। कोलोराडोमा नेपाली राजदूतावासको दुई दिने घुम्ती कन्सुलर सेवा शिवीर सम्पन्न भएको छ।

कोलोराडोमा सक्रिय संस्थाहरु नेपाली घर, एनआरएन कोलोराडो च्याप्टर र बिआटी नेपाल डट कमको संयुक्त आयोजनामा सम्पन्न शिविरबाट १ सय २५ जना भन्दा बढी प्रत्यक्ष लाभान्वित भएका छन्।

कोलोराडाे , वायामिङ र न्यु मेक्सीको स्टेटमा बसोवास गर्ने नेपाली समुदायलाई स्थानीय स्तरमा सेवा दिने उद्धेश्यले सञ्चालन भएको शिविरमा ७१ एनआरएन कार्ड, ४४ पासपोर्ट नविकरण, ४ अधिकृत वारेसनामा, २ एकतर्फी यात्रा अनुमती पत्र र २ वटा भिषा सेवा प्रदान गरिएको द्धितीय सचिव उत्तम घिमिरेले बताएका छन्।

अमेरिकाको लागि नेपाली राजदूत डा.युवराज खतिवडाको नेतृत्वमा आएको ४ सदस्सीय टोलीले शनिबार र आईतबार दुई दिनमा उक्तकाम सम्पन्न गरेको हो । टोलीमा द्धितीय सचिव उत्तम घिमिरे, तृतीय सचिव राधारमण दुवे र कार्यालय साहायक रामजि दाहाल रहेका थिए।

यसैगरी शनिवार शिविर संचालन भएको स्थान फ्रन्ट रेन्ज कम्युनिटी कलेजमा कोलोराडो युथको आयोजनामा नेपालको बिकासमा प्रवासी युवाको भूमिका बिषयमा राजदूत खतिवडासंग अन्तरकृया कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा स्थानीय युवाहरुले राजदूत समक्ष शिक्षा, स्वास्थ्य, रोजगार, श्रोत र साधनसम्बन्धी बिभिन्न जिज्ञासा राखेका थिए । कार्यक्रममा राजदूत खतिवडाले नेपालको बिकासको लागि प्रवासी युवाहरुको महत्वपूर्ण भूमिका रहेको र भबिष्यमा पनि निरन्तर रहने आशा गर्दै मातृभूमिलाई नर्बिसन आग्रह गरे।

त्यसैगरी शनिबार सांझ कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधी, बुद्धिजीवी, समाजसेवी, गन्यमान्य, ब्यवसायी, बिद्यार्थी, सर्वसाधारण, पत्रकारहरुको सहभागीतामा राजदूत खतिवडासंग प्रत्यक्ष अन्तरकृया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा एनआएन अमेरीकाका उपाध्यक्ष बिकास उप्रेती , महाबाणिज्यदूत एसी शेर्पालगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो। एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष रामचन्द्र पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रमा सहभागीहरुले राजदूत समक्ष राजदूतावासबाट प्रदान गरिने सेवा, प्रवासमा नेपाली समुदायको हक हित र बिकासकोलागि राजदूतको भूमिका, नेपाल र नेपालीको स्तर उन्नति, दोहोरो नागरिकता, एमसीसीलगायत बिभिन्न जिज्ञासाहरु राखेका थिए । कार्यक्रममा सहभागीहरुको जिज्ञासालाई संम्बोधन गर्दै राजदूत खतिवडाले प्रवासमा रहेका नेपालीहरुको रेमीट्यान्सले नेपालको बिकासमा ठूलो टेवा पुगेको भन्दै सबैलाई धन्यवाद दिए । उनले नेपालमा लगानी गर्ने वातावरण बन्दै गएको भन्दै यहा सिकेको सिप, ज्ञान र कमाएको धन नेपाल र नेपालीको स्तर उन्नतिमा परिचालन गर्न सबैसंग आग्रह गरे।

नेपाल सरकारको स्थानीय स्तरमा नै गएर सेवा दिने नीति अनुसार यो घुम्ती कन्सुलर सेवा आयोजना भएको बताउदै नेपालीलाई छिटो छरितो र सर्वसुलभ सेवा दिन नेपाल सरकार लागी परेको बताए । कार्यक्रमलाई एनआरएन केन्द्रिय उपाध्यक्ष बिकास उप्रेती , महाबाणिज्यदूत एसी शेर्पा, एनआएन टेक्सास च्याप्टरका अध्यक्ष सोफीन थापा, आइसीसी मानार्थ सदस्य प्रकास सापकोटा, नेपाली घरका अध्यक्ष लछुमन राना लगायतका ब्यक्तिहरुले सम्बोधन गरेका थिए।

त्यसैगरी आईतबार राजदूत तथा एनआरएन पदाधिकारीहरुलाई नेपाल र नेपालीहरुको पहिचाहन झल्कने नपाली सामूदायिक भवन निर्माणको लागि खरिद प्रकृयामा रहेको भवनको अवलोकन भ्रमण गराईएको थियो । कोलोराडोमा नेपाली घरको संयोजनमा तथा सबै संघ संस्था र समाजसेवी दाताहरुको सहयोगमा सामुदायिक भवन प्रकृया अघिबढेकोमा सबैले खुशी ब्यक्त गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

घुम्ती कन्सुलर सेवा शिविरको अन्तमा स्वयंसेवी सबैलाई राजदूत खतिवडाले प्रमाण पत्र प्रदान गरेका थिए । उनले सबैको साथ र सहयोगले शिविर सफलताको साथ सम्पन्न भएकोमा आयोजक सहभागी सबैलाई धन्यवाद दिएका थिए।

कार्यक्रम सम्पन्न गर्न यहाँका ब्यवसायी तथा समाजसेवी दाताहरुले नगद तथा अन्य आबश्यक सामग्री सहयोग गरेका थिए। दाताहरुले दिएको नगद सहयोग खर्च कटाएर बाकी रहको नेपाली घरको खातामा जम्मा गर्ने समझदारी भए बमोजिम बांकी रहेको २ हजार ६ सय १६ डलर नेपाली घरको खातामा जम्मा गरिने नेपाली घरका उपाध्यक्ष जगदिश ढकालले बताए।





Comments

comments

45182