विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको कोरोनाबाट निधन..

काठमाडौँ, विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य एवं नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको कोभिड–१९ का कारण निधन भएको छ।

कोभिड संक्रमणपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत महर्जनको सोमबार निधन भएको विवेकशील पार्टीले जनाएको छ।

आरबी डायमन्ड ज्वेलर्सका प्रबन्ध निर्देशकसमेत रहेका महर्जन नेपाल श्रीलंका चेम्बर अफ कमर्सको अध्यक्ष पनि भएका थिए।

महर्जनको निधनप्रति विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘अत्यन्तै सफल व्यवसायी सामाजिक व्यक्तित्वको निधनले पार्टीका लागि मात्र नभई देशैका लागि अपूरणीय क्षति भएको’ बताएका छन् । उनले लेखेका छन्, ‘पार्टी निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुभएका महर्जन दुई वर्षभित्र म छोराछोरीलाई सबै व्यवसाय हस्तान्तरण गर्छु र पार्टीमा पूरै समय लगाउँछु भन्नुहुन्थ्यो, समयले तपाईंलाई पर्खिएन । तपाईंको आत्मालाई चिरशान्ति र परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस्।’

महर्जन गत स्थानीय तह निर्वाचनमा तत्कालीन साझा पार्टीका तर्फबाट ललितपुर महानगरको मेयर पदमा चुनाव लडेका थिए। रासस





Comments

comments

45921