BREAKING NEWS: हङकङका पत्रकार किसन राईको भिरबाट लडेर मृत्यु..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २५ अक्टोबर । हङकङमा रहेर एभरेष्ट पत्रिका सञ्चालन गर्दै आएका वरिष्ठ पत्रकार किसन राईको २४ अक्टोबर आइतवार साँझ नेपालमा भिरबाट लडेर मृत्यु भएको छ।

स्व किसन राई

जनजाति महासंघ हङकङका अध्यक्षसमेत रहेका ५४ वर्षीय पत्रकार राई केही दिनयता नेपालका विभिन्न जिल्लाहरुको भ्रमणमा थिए।

राईको शव खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडास्थित पंखु खोलामा फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर शाहले नजिकै गाडीबाट ओर्लिएर दिसा बस्न जानेक्रममा भीरबाट लडेर करीब २०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको पुष्टि गरेका छन्।

घटनास्थल। फोटोः सामाजिक सञ्जाल। थप फोटोहरु यहाँ छन्।

राईसँगै आएका सशस्त्र प्रहरीका पूर्वएसएसपी प्रेम श्रेष्ठका अनुसार उनीहरू हलेसीबाट भोजपुर जाँदै थिए। राई पछिल्लोपटक साथीभाइहरुसंग पुर्ख्यौली गाउं/ जिल्लाहरुको भ्रमणमा थिए। उनीहरु प्रदेश नं. २–०१–०२४ च ३८०२ नम्बरको निजी कार लिएर भ्रमणमा गएको खुलेको छ।

पत्रकार राईको लडेर मृत्यु भएको खबर प्रहरीचौकी दोर्पाचिउरीडाँडाले बेलुका ७ बजे प्राप्त गरेको थियो। राईको शव राति २ बजे जिल्ला अस्पताल पुर्‍याएको थियो।

फेसबूकमा राईको अन्तिम पोस्ट, ‘आज यतातिर..’ पृष्ठभूमिमा ओखलढुङ्गाको गेट।

राईलाई अस्पतालमा मृत अवस्थामा ल्याइएको मेडिकल सुपरिटेण्डेण्ट डा. वैभव मल्लिकले पुष्टि गरेका छन्। आफन्त आएपछि पोष्टमार्टम गरेर शव जिम्मा दिने तयारी गरिएको प्रहरी निरीक्षक शाहले बताएका छन्।

ओखलढुंगाको मोलुङ गाउँपालिका-२ टेकनपुरबाट धरान नगरपालिका-१५ बसाइँ सरेका राई हालै हङकङमा परिवारसंग बस्दै आएका थिए। राईका आमा, श्रीमती र जेठा छोरा हङकङमा छन् भने कान्छा छोरा बेलायतमा रहेका छन्। राईका परिवारका सदस्यहरु हङकङबाट भोलि नेपाल प्रस्थान गर्ने भएका छन्।

दुई दशकदेखि हङकङमा एभरेष्ट पत्रिका सञ्चालन गर्दै आएका राई नेपाल पत्रकार संघ हङकङका अध्यक्षसमेत थिए।

स्थानीय हङकङेली नेपाली पत्रकारहरुका अभिभावक जस्तै रहेका राईको असामायिक निधनको खबर सुनेर स्तब्ध भएको मिडियाकर्मी पशन तमूले बताए।

साथीभाइसंग सामूहिक तस्वीर खिचाउंदै (राई तस्वीरमा वायाँबाट तेश्रो) पृष्ठभूमिमा ओखलढुङ्गा गेट । तस्वीर फेसबूकबाट

(पत्रकार किसन राईको परिवारको संवेदनाशीलतालाई ध्यानमा राख्दै हामीले बिहानको पोष्टलाई डिलेट गरेका थियौ। त्यसबेला तपाईहरुका प्रतिक्रियाहरुसमेत डिलेट हुन गएकोमा क्षमा चाहन्छौं। राईको परिवारका सदस्यलाई यथार्थ जानकारी भइसकेपछि पुनः समाचार पोष्ट गरेका छौं। धन्यवाद)

 

पत्रकार किसन राईको मृतात्माको शान्तिको लागि प्रार्थना गर्दै हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्न चाहन्छौं साथै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं।
🙏💐😭🕯

पशन तमू
प्रधानसम्पादक

जगतअम्बु गुरुङ
वरिष्ठ फोटोपत्रकार
एचकेनेपाल डट कम तथा परिवार
.

.

.

.

.

.





Comments

comments

46101