काठमाण्डौं – देशका धेरैजसो क्षेत्रमा पछिल्लो केही हप्तादेखि अधिकतम तापक्रम औसतभन्दा कम देखिएको छ।
जल तथा मौसम विज्ञान विभागको अभिलेखअनुसार जाडो सुरु हुँदै गर्दा तापक्रम घट्नु स्वाभाविक भए पनि पछिल्लो केही हप्ता ३० वर्षको औसत तापक्रमभन्दा कम हुँदा सर्वसाधारणले बढी चिसो महसुस गरेका छन् । एक्कासी चिसो बढ्दा बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्यमा असर पुग्नसक्ने हुँदा सावधानी अपनाउन भनिएको छ।
अक्टोबर तेस्रो हप्तापछि गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाबाहेक अन्य प्रदेशमा अधिकतम तापक्रम सरदरभन्दा कम देखिएको विभागका वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले बताउनुभयो । योबीचको समयमा कुनै दिन काठमाण्डाैमा दुई डिग्रीसम्मै तापक्रम घटेको छ । नोभेम्बर लागेपछि काठमाण्डाैमा न्यूनतम तापक्रम पनि घटेको उहाँले बताउनुभयो । विराटनगर, धनकुटा, धरान, ओखलढुङ्गा, जिरीमा न्यूनतम तापक्रम पनि घटेको छ । अधिकतम तापक्रम दिनमा र न्यूनतम तापक्रम रातमा मापन हुन्छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले अब फेरि जाडो तथा सुक्खायाममा हुने विपद्जन्य घटना बढ्ने सम्भावना बढ्दै जाने बताउनुभयो । तापक्रम घट्दै जाँदा मानिसले आगो बालेर ताप्ने, घरमा आगो बालेर छाड्नेलगायत क्रियाकलाप हुने र त्यसबाट आगलागीको सम्भावना बढ्नसक्नेतर्फ सचेत हुनुपर्ने जनाइएको छ । उहाँले आगलागी तथा डढेलोका घटनाहरू घट्न थालिसकेको बताउनुभयो । केही अघिमात्रै महोत्तरीमा आगो ताप्दा शरीरमा आगो लागेर घाइते भएकी एक महिलाको हिजाे बिहीवार ज्यान गएकाे छ।
औसतभन्दा तापक्रम घट्ने क्रम काठमाण्डाै उपत्यकामा गएको अक्टोबर तेस्रो हप्तादेखि नै सुरु भएको हो । मुख्यतः उपत्यकामा भने अक्टोबर २६ देखि अधिकतम तापक्रम औसतभन्दा कम देखिँदै आएको छ।
पछिल्लो समयमा भने न्यूनतम तापक्रमसमेत औसतभन्दा कम देखिन थालेको वरिष्ठ मौसमविद् डा. कँडेलले बताउनुभयो । अहिले ‘पोस्ट’ मनसुनकै समयमा चलिरहेकाले जाडोयामको आकलन आउन बाँकी नै छ । पर्सि आइतवारदेखि मौसम सुधार हुने देखिएकाले तापक्रम केही बढ्ने मौसमविद्को अनुमान छ।
‘बिहीवारसम्मको विवरण हेर्दा काठमाण्डाै, दोलखा, डडेल्धुरा, दिपायल, धनगढी, सुर्खेत, नेपालगञ्ज, दाङलगायत धेरै जिल्लामा औसतभन्दा कम तापक्रम मापन गरिएको छ’, कँडेलले भन्नुभयो, ‘पोखरा, जाेमसोमलगायत केही ठाउँमा तापक्रम औसतभन्दा केही बढी छ।’
दुई दिन नोभेम्बर १७ (बुधवार) काठमाण्डाै उपत्यकाको अधिकतम तापक्रम (३० वर्षको औसत तापक्रम २३ दशमलव २ डिग्री) हो । यसपालिको अधिकतम तापक्रम घटेर २२ डिग्रीमा झरेको छ । अघिल्लो वर्ष त्यही दिन २२ दशमलव ६ डिग्री थियो । त्यसको अघिल्लो दिन नोभेम्बर १६ (मङ्गलवार) औसत अधिकतम तापक्रम २२ दशमलव ९ हो । त्यस दिन तापक्रम २१ दशमलव ८ डिग्रीमा झरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिजो बिहीवार औसत तापक्रम २३ दशमलव ६ हो तर तापक्रम घटेर २२ दशमलव ५ मा आएको थियो।
विभागका अनुसार अक्टोबर २६ (कात्तिक ९) पछि भने क्रमशः अधिकतम तापक्रम औसतभन्दा कम देखिँदै आएको छ । त्यस दिन औसत अधिकतम तापक्रम २५ दशमलव ९ थियो । गएकाे वर्ष औसतभन्दा बढी २७ दशमलव २ भएकोमा यसपालि अधिकतम तापक्रम घटेर २५ दशमलव ५ मा झर्याे । काठमाण्डाैमा नोभेम्बर ५ मा सरदरभन्दा दुई डिग्री कम तापक्रम मापन गरिएको थियो । प्राप्त विवरणअनुसार त्यस दिन औसत अधिकतम तापक्रम २५ दशमलव २ हुनुपर्नेमा घटेर २२ दशमलव ९ मा झरेको थियो । जबकि अघिल्लो वर्ष त्यही दिन २५ डिग्री तापक्रम थियो।
मौसमविद्का अनुसार डिसेम्बर, जनवरी, फेब्रुअरीको तापक्रम हेर्दा यसपालिको हिउँदको समयमा सरदरभन्दा तापक्रम बढी र सुक्खा हुने सम्भावना अधिक छ । यद्यपि अबको जाडोमा तापक्रमको अवस्था कस्तो हुनसक्छ भनेर विभागले अर्काे हप्ता आकलन सार्वजनिक गर्दैछ । त्यसको आवश्यक तयारी भइरहेको जनाइएको छ । सागरमा बनेको निम्न चापीय क्षेत्रका कारण नेपालमा पनि मौसम बदली रहेको छ । अहिले प्रदेश नं १ मा सामान्य बदली र अन्य प्रदेशमा सामान्यतयाः बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मौसम बदलीका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र वाग्मती प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँमा र बाँकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ।
आज पनि काठमाण्डाै उपत्यकालगायत विभिन्न जिल्लामा चिसो महसुस गरिएको छ भने मौसम सफा देखिएको छैन । घाम पनि लाग्न सकेको छैन । धुम्म छ, ठूलो पानी पर्ने अवस्था पनि छैन । उच्च पहाडी भूभाग तथा हिमाली भूभागमा हल्का हिमपात हुनसक्ने छ । यो क्रम भोलिसम्म रहने र पर्सि आइतवारदेखि सुधार हुने वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो।
‘यस्तो समयमा तापक्रम वायुमण्डल स्थित भएर बस्ने हुँदा प्रदूषण हुनसक्छ, यस्तो अवस्थामा सावधानी अपनाउनुपर्छ’, उहाँले भन्नुभयो । यसपालि जुम्लामा माइनस पाँच डिग्रीसम्म र काठमाण्डाैकाे न्यूनतम ७ दशमलव ४ डिग्रीसम्म तापक्रम झरेको मापन गरिएको छ। रासस