चुनावको दिन हङकङमा रेल र बस भाडा निःशुल्क..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १० डिसेम्बर । हङकङको व्यवस्थापिका परिषद् (विधान परिषद) चुनावको दिन नागरिकहरूले एमटीआर, केएमबी, सिटीबस र ट्रामलगायत सार्वजनिक यातायातमा निःशुल्क यात्रा गर्न सक्ने छन्।

सरकारले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।

सरकारले जनतालाई निर्वाचनमा सक्रिय सहभागिता जनाउन र भोट हाल्न प्रोत्साहित गर्न निःशुल्क यात्राको अवसर प्रदान गरेको जनाएको छ।

विधान परिषदको चुनाव डिसेम्बर १९ तारिखमा हुदैछ। हङकङभर लगभग ६०० मतदान केन्द्रहरू स्थापना गरिनेछ। मतदान केन्द्रहरू बिहान ८.३० बजेदेखि राति १०:३० बजेसम्म खुल्नेछन्।

निर्वाचनका दिन सर्वसाधारणले केएमबी, सिटीबस, न्यु वल्र्ड फर्स्ट बस, लङ विन बस र नयाँ लान्ताओ बसबाट निःशुल्क बस सेवाको मजा लिन सक्नेछन्।

यद्यपि यो सुविधा एयरपोर्ट र बोर्डर पोइन्ट जाने रुटहरू, रात्रीकालीन रुटहरू, साइटसिइङ रुटहरू र नयाँ लामो दूरीको बस रुटहरूमा लागू हुने छैन।

एमटीआरले एलआरटी र एमटीआर बसहरुमा पनि त्यस दिन नि:शुल्क सेवाहरू उपलब्ध गराउने जनाएको छ। एयरपोर्ट एक्सप्रेसमा भने यो सुविधा दिइने छैन।

त्यसै गरी, नागरिकहरूले सबै ट्राम मार्गहरूमा निःशुल्क यात्रा गर्न सक्छन्।

सरकारले सहयोगका लागि सार्वजनिक यातायात सञ्चालकहरूलाई धन्यवाद दिँदै नागरिकहरूलाई यात्राको लागि थप समय दिन स्मरण गराएको छ।





Comments

comments

47156