माओवादी केन्द्रको केन्द्रीय समितिमा खुला र समावेशी बराबर

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले केन्द्रीय समितिमा ५० खुला र ५० प्रतिशत समावेशी छुट्याउने प्रस्ताव गरेको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल चलिरहेका बेला मङ्गलबार बसेको स्थायी समिति बैठकमा समावेशीको क्लस्टर मिलाउने विषयमा छलफल भएको छ।

बैठकले समावेशीतर्फको क्लस्टर मिलाउन विधान संशोधनका लागि गठित देव गुरुङ नेतृत्वको समितिलाई जिम्मेवारी दिएको छ । पार्टी स्थायी समिति सदस्य हरिबोल गजुरेलले निर्वाचन आयोगको व्यवस्थाअनुसार पनि समावेशीलाई व्यवस्थापन गर्नुपर्ने भएकाले थप गृहकार्य गर्न लागिएको जानकारी दिए ।

बैठक विधान र समावेशी क्लस्टरका बारेमा छलफल गर्न बसेको र निर्वाचन आयोगको ढाँचालाई आधार मान्नुपर्ने हुन्छ भन्दै उनले थपे, “क्लस्टरको निर्णय भइसकेको छैन । ५०÷५० प्रतिशत गर्ने कुरा आएको छ तर महिला ३५, दलित १५, युवा २० र मुस्लिमलाई छुट्याइएको पाँच प्रतिशत नघट्ने गरी व्यवस्थापन हुनेछ।”

प्रस्तावमा ५० प्रतिशत प्रतिनिधित्व खुला र ५० प्रतिशत समावेशीतर्फ छुट्याइयो भने समावेशीतर्फको ५० प्रतिशतलाई सय मानेर सबैलाई समावेश गर्नुपर्ने हुन्छ । जसले गर्दा महिलाको ३५ प्रतिशत, दलितको १५ प्रतिशत घट्ने सम्भावना देखिएको छ।

यसैबीच स्थायी समिति बैठकले अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि सुझाव राख्न प्रत्येक समूहका नेतालाई १५ मिनेटको समय उपलब्ध गराउने निर्णय गरेको छ । प्रतिवेदनमाथि मङ्गलबार दिनभर विभिन्न २५ वटा समूहले छलफल गरेका छन् । छलफलबाट आएको निष्कर्षलाई बुधबार १ बजे बन्दसत्रमा समूहगत रूपमै पेस गर्ने कार्यतालिका रहेको गजुरेलले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ।





Comments

comments

47505