हङकङमा रेकर्ड तोड्दै एकै दिन थपिए ११६१ संक्रमित, थप २ विरामीको मृत्यु..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ९ फेब्रुअरी । हङकङले रेकर्ड तोड्दै बुधबार १ हजार १६१ पुष्टि भएका केसहरू थपेको छ। कोभिड-१९ प्रकोपपछि हङकङमा पहिलो पटक चार अंकको केस नम्बर रिपोर्ट गरेको हो।

सेन्टर फर हेल्थ प्रोटेक्शनले कोभिड-१९ को १ हजार १६१ केस दर्ज भएको जानकारी दिएको छ। आज पनि करीब ८०० प्रारम्भिक केसहरू पुष्टि भएका छन्।

सेन्टर फर हेल्थ प्रोटेक्शनका डा चुआङ शुक-क्वानले ८ मात्र आयातित केस र ११५३ स्थानीय केसहरू पुष्टि भएको जानकारी दिइन्। डा चुआङका अनुसार अधिकांश केसहरू ओमिक्रोन भेरियन्टका र केही अल्पसंख्यक केसहरू डेल्टा भेरियन्टका रहेका छन्।

हिजोसम्म लगभग १४ सय अनलिंक गरिएका केसहरू छन्। डा. चुआङले यी मध्ये अधिकांश शाम शुई पो, युन लङ, काउलुन शहर, वोङ ताई सिन, कुउन टोङ, शा टिन, सुएन वान, ताई पो र क्वाई चिङका बासिन्दा रहेको जानकारी दिइन्।

धेरै केसहरुमध्ये गृहिणी, वृद्ध व्यक्ति र चिनियाँ नयाँ वर्षको बिदामा भेला भएका सेवानिवृत्त नागरिकहरू रहेका छन्।

डा चुआङले हङकङवासीहरूलाई घरबाट बाहिर कम निस्कन र एकैचोटि केही दिनको लागि चाहिने सामाग्रीहरू किन्न आह्वान गरेकी छन्।

यसैबीच, अस्पताल प्राधिकरणले ७३ र ७६ वर्षका दुई पुरुषको कोभिड-१९ का कारण मृत्यु र दुई संक्रमित बिरामीहरूको अवस्थामा अहिले गम्भीर रहेको जानकारी दिएको छ।

७३ वर्षीय पुरुषले गत वर्ष सेप्टेम्बरमा सिनोभ्याक खोप पूरा गरेका थिए। सोमबार अस्पतालमा भर्ना भएका उनको हिजो बिहान निधन भएको थियो। त्यस्तै, खोप नलगाइएका श्वासप्रश्वाससम्बन्धी रोगी ७६ वर्षीय पुरुषको आज बिहान करिटास मेडिकल सेन्टरमा निधन भएको जानकारी दिएको छ। हङकङमा कोभिड-१९ को पाचौं लहरपछि २ विरामीको मृत्यु भएको यो पहिलो पटक हो।

यससंगै कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१५ पुगेको छ।





Comments

comments

48450